यो भाइरल फोटोमा विद्या भट्टराईको झोला बोक्ने युवा को हुन?


 


काठमाडौं, कात्तिक २१

अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको छ । भाइरल फोटो सत्तारुढ नेकपाकी उम्मेदवार एवं स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको हो । मंसिर १४ गते कास्की २ हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी नेकपाबाट उम्मेदवार छिन् । बिहीबार उम्मेदवारी मनोनयको कार्यक्रम थियो । उनी त्यसैका लागि निर्वाचन कार्यालयतिर जाँदै थिइन ।

त्यसैक्रममा उनको झोला एक युवकले बोकेको तस्बिर सार्वजनिक भयो, जून छिनभरमै भाइरल भइहाल्यो । धेरैले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका जवानबाट जुता बोकाएको र अहिले अर्की विद्याले झोला बोलाएको भन्दै सामाजिक सञ्जालमा तिखो आलोचना गरे । तर, कास्की २ की विद्याको तस्बिरको कथा भने फरक छ ।
सामाजिक सञ्जालमा आलोचना भएजस्तो विद्याले न त झोला बोक्न नै लगाएकी हुन, न त उनले रवाफ देखाएकी हुन् ।

नेकपा कास्की जिल्ला कार्यसमितिका अनुसार तस्बिरमा विद्याको झोला बोक्ने युवा तत्कालिन पर्यटन मन्त्री एवं सांसद स्वर्गीय रवीन्द्र अधिकारीका भाइ हुन् । अर्थात विद्याका देवर दिपेन्द्र अधिकारी हुन ।

दाइ गुमाएको अकल्पनीय पीडामा पनि कास्कीका जनताको आग्रहलाई स्विकारेर चुनाबी अभियानमा होमिएकी भाउजुलाई सहयोग गर्न दिपेन्द्र जापानबाट नेपाल आएका हुन । अहिले चुनावी अभियानमा उनले कहिले झोला बोकेर त कहिले पर्चापम्लेट बोकेर भाउजुलाई सहयोग गरिरहेका छन् । तर, सामाजिक सन्जाल कुरै नबुझी आलोचनाले भरिएका छन् ।

सायद यहीँ परिस्थिती देखेर केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सन्जालको दुरुपयोग भइरहेको बताएका थिए । मान्छेहरु नबुझेरै सामाजिक सञ्जालमा भाइरल बनाउने काम गरिरहेको उनको भनाई थियो । त्यसो त एकजना कविले नेपाल हल्लै हल्लाको देश भनेका थिए । तसर्थ हामी नेपालीहरु कागले कान लग्यो भन्दैमा कागको पछि दौडिने होइन कि कान छाम्नुपर्छ । अर्थात सत्यतथ्य बुझेर मात्रै प्रतिक्रिया जनाउँदा उपयुक्त हुन्छ ।

प्रकाशित मिति: २१ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्