भारतीय राजदूतलाई देउवाले फोनबाटै दिए चेतावनीः कालापानी हाम्रो हो, तत्काल नक्सा सच्याउ


 


काठमाडौं, कार्तिक २१

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी र लिपुलेक नेपालकै भूमि भएको स्पष्ट पारेका छन्। भारतले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्ने उनको भनाई छ।

बिहीबार दिउँसो भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्साले नेपाली सीमालाई परिवर्तन नगरेको दाबी गरेपछि देउवाले साँझ नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीलाई टेलिफोन गरी नेपाली भूमिमाथिको कुनै पनि ढंगको अतिक्रमण स्वीकार्य नहुने स्पष्ट पारेका हुन्।

‘सभापति देउवाले राजदूत पुरीसँग टेलिफोन संवाद गरेर नक्साप्रति आफ्नो ध्यानाकर्षण जनाउनुभएको छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘उनले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराए।’

कालापानी र लिपुलेकको विषयमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कुटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने कांग्रेसको दृष्टिकोण रहेको प्रवक्ता शर्माको भनाई छ।

प्रकाशित मिति: २१ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्