भारतले कति मिचेको नेपाली भूमि, ओली सरकारले सार्वजनिक गर्यो तथ्यांक, फिर्ता गराएरै छाड्ने


 


काठमाडौं, कार्तिक २१

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्वीकार गरी दिएको स्पष्ट पारेका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले ती समस्या कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कामलाई सरकारले अघि बढाएको बताए। बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एक पक्षीय रुपमा भारतले जारी गरेको राजनीतिक नक्सालाई सरकारले अस्वीकार गरिदिएको बताए। ‘एक पक्षीय रुपमा भारतले हालै जारी गरेको पोलिटिकल नक्सालाई हामीले अस्वीकार गर्ने निर्णय गरेका छौं’, मन्त्री बाँस्कोटाले भने, ‘कुटनीतिक, राजनीतिक तहबाट ती समस्या समाधान गरिनेछ।’

उनले नेपालको करिब २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै त्यसलाई ऐतिहासिक तथ्यको आधारमा समाधान गर्न पनि नेपाल सरकार दृढ रहेको बताए। नेपालको भूमि मिच्न नदिने सरकारको अडान यथावत रहेको पनि मन्त्री बाँस्कोटाको भनाई छ।

मन्त्री बाँस्कोटाले नेपालमा कुनै पनि प्रकारको आतंकवादी गतिविधि हुन नदिने प्रतिवद्धता पनि दोहोर्याए। नेपालमा आतंकवादी गतिविधिको सम्भावना बढेर गएको अमेरिकी सरकारको प्रतिवेदन सार्वजनिक भइरहेका बेला उहाँले त्यस्ता खालका बाह्य वा घरेलु गतिविधि हुन नदिन नेपाल सरकार सचेत रहेको बताए।

मन्त्री बाँस्कोटाले कानुन विपरितका कुनै पनि गतिविधि नेपालमा गर्ने छुट कसैलाई नरहेको पनि बताए।

प्रकाशित मिति: २१ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्