अनेरास्ववियुद्वारा ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन


 


काठमाडौँ, २० कात्तिक

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेकामा विरोधमा प्रदर्शन गरेको छ । अखिलले आज दिउँसो प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट निस्केको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा गई सभामा परिणत भएको थियो ।

प्रदर्शनमा विद्यार्थीले नेपालको ‘गो ब्याक इन्डिया, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो’, ‘मिचिएको हाम्रो भूमि फिर्ता गर’ ‘आफ्नो माटो, अर्काले दाब्दा किन मौन सरकार’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका थिए । कोणसभामा अखिलका संयोजक ऐन महरले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै भारतीय पक्षलाई नक्सा सच्याउन माग गरे ।

उनले सरकारलाई कूटनीतिक पहलबाट भारतीय नक्सामा नेपालको भूमि मिचिएका बारेमा छिटो पहल गर्न आग्रह गरे । सभामा अखिलका सहसंयोजक रञ्जित तामाङले भारत छिमेकी मुलुक भए पनि पटकपटक नेपाली सीमा अतिक्रमण गर्ने गरेकाले मान्य नहुने बताए । उनले नेपालको भूमि मिचिएको भारतले बनाएको नक्सा सच्याउनुपर्ने माग गरे ।

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्