झुटो बोलेपछि महरासँग प्रचण्ड आक्रोशित, कडा सजाय हुने संकेत


 


दाङ, कात्तिक २०

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णवहादुर महरामाथि कडा सजाय हुने संकेत गरेका छन् ।

दाङमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले महराले आफूसँग समेत घटना नभएको भनेर झुटो बोलेको बताए । झुटो बोलेपछि प्रचण्ड महरासँग असन्तुष्ट बनेका थिए । झुटो बोल्नुले पनि उनी दोषी दोषी देखिएको भन्दै दोष अनुसारको सजाय हुनै पर्ने प्रचण्डको भनाई छ ।

‘उहाँ (महरा) त्यो प्रकरणमा दोषी हुनु भएकै हो । यसर्थ उहाँलाई उहाँको कसुर अनुसारको सजाय हुनु पर्छ, यो मैले मात्रै हैन, सिंगो राष्ट्रले नै अपेक्षा गरेको कुरा हो’, अध्यक्ष प्रचण्डले भने ।

घटनाकोे सोधपुछका क्रममा महराले आँफूलाई ढाँटेपछि झनै यसको पुष्टि भएको भन्दै दाहालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्य तथ्य बुझ्न महरा कहाँ पठाएको र महराले त्यो बेला ढाँटेको खुलासा गरे । ‘मैले सत्य तथ्य के हो भनेर नारायण कमरेडलाई पठाएको थिएँ । तर, महराले त्यो बेला ढाँट्नु भयो र झनै उहाँ दोषी हुनुहुन्छ भन्ने निष्कर्षमा पुग्दै गएँ ।’

थप अनुसन्धानका क्रममा महराको गल्ती देखिँदै गएपछि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसंग आँफूले के गर्ने भनेर छलफल गरेको र राजीनामा दिन लगाएको जानकारी उनले दिए ।

माओवादी आन्दोलनका क्रममा गरेको योगदान स्मरणीय रहे पनि अपराधमा संलग्नलाई छुट नदिइने उनले स्पष्ट पारे । प्रचण्डको यो भनाईले महरामाथि कडा सजाय हुने संकेत दिन्छ । यद्यपि महरा अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् । उनको मुद्दाको टुंगो लागेको छैन । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्