कालापानी र लिपुलेक हडप्ने नयाँ नक्साले नेकपामा हंगामा, भारतलाई सबक सिकाउन माग


 


काठमाडौं, कात्तिक २०

नेपाली भूमी कालापानी र लिपुलेक हडप्नेगरी भारतले सार्वजनिक गरेको नयाँ नक्साप्रति नेकपाका नेताहरुले आपत्ति जनाएका छन् । यद्यपि आधिकारिक रुपमा पार्टी अहिलेसम्म प्रतिक्रियाविहीन छ । भारतीय नक्साले नेकपाभित्र तत्कालै प्रतिक्रिया जनाउने र मौन रहने गरी दुई धार देखिएको छ । अहिलेसम्म माधव नेपाल समूह भारतीय नक्साप्रति कडा रुपमा प्रस्तुत भएको छ । उक्त समूहले सर्वदलीय बैठकदेखि कुटनीतिक पहलसम्मको माग गरेको छ ।

नेपाल समूह निकट मानिने प्रभावशाली नेता भीम रावलले मंगलबारै भारतीय नक्साप्रति कडा आपत्ति जनाएका छन् । उनले तत्काल स्थायी कमिटी बैठक बोलाउन समेत माग गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्सामा भारतीय भूमि देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कुटनीतिक माध्यमबाट तत्काल कुरा गरिनुपर्छ। भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।’

यस्तै कांग्रेस र राप्रपाले पनि उक्त नक्सामा कडा आपत्ति जनाउँदै तत्काल सच्याउनका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् । नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर गम्भीर पहलकदमी गरोस् । नेपाली माटोका बारेमा कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य छ ।’

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्