नेकपाले ल्याएका प्रदेश प्रमुखको तलब कति? यस्तो छ राष्ट्रपतिजस्तै आकर्षक सुविधा


 


काठमाडौं, कात्तिक २०

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले नियुक्त गरेका ७ वटै प्रदेशका प्रमुखलाई हटाएर सत्तारुढ नेकपाले नयाँ अनुहार ल्याएको छ ।

नयाँ प्रदेश प्रमुखलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ समेत खुवाइसकेकी छिन् । शपथ लिनेमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश २ का प्रमुख तिलक परियार, प्रदेश ३ का प्रमुख विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेश ५ का प्रमुख धर्मनाथ यादव, कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिलाकुमारी पन्त त्रिपाठी छन् ।

प्रदेश प्रमुखको नियुक्तिसँगै सेवा सुविधाबारे पनि जनस्तरबाट चासो देखिएको छ । प्रदेश प्रमुखले मासिक १ लाख १४ हजार २४० रुपैयाँ प्राप्त गर्छन् । जसमा ७४ हजार २४० रुपैयाँ विशुद्ध पारिश्रमिक हो । अतिथि सत्कार र भैपरी आउने खर्चबापत ४० हजार छुट्ट्याइएको छ । पोशाक सुविधावापत वार्षिक १८ हजार पाउने व्यवस्था पनि प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ मा छ ।

ऐनअनुसार प्रदेश प्रमुखको मासिक पारिश्रमिक ६४ हजार रुपैयाँ थियो । साउन १ देखि भने प्रदेश प्रमुखहरूको पारिश्रमिक वृद्धि भएको हो . सो तलब मात्रै ७४ हजार २ सय ४० रुपैयाँ पुगेको हो ।

यसका अलावा बिमा र दैनिक भ्रमण भत्ताको व्यवस्था पनि गरिएको छ । स्वदेशमा भ्रमण गर्दा दिनको ३ हजार रुपैयाँ र विदेशमा २५० डलर पाउछन् । १५ लाखको बिमा हुन्छ ।
साथै सरकारले बस्नका लागि आवास पनि उपलब्ध गराउँछ । ४ स्वकीय सचिवसहित १२ जनाको सचिवालय बनाउने सुविधा पनि प्रदेश प्रमुखलाई छ ।

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्