उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ : सभापति देउवा


 


चितवन, १७ कात्तिक

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन । आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको उनको भनाइ थियो । पार्टीभित्रको आन्तरिक कलहका विषयमा कार्यकर्ताको जिज्ञासापछि सभापति देउवाले भने, “उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस्, पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।”

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अन्य शक्ति एक ठाउँमा र काङ्ग्रेस दुई पार्टी जस्तो भएका कारण हार बेहोर्नु परेको भन्दै उनले उपनिर्वाचनमा यस्तो भए कारवाही गरिने चेतावनी दिए । अहिलेको निर्वाचनमा सरकारको नेतृत्व गर्ने शक्तिसँगको प्रतिस्पर्धा गर्नुपर्ने समयमा काङ्ग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको सभापति देउवाले बताए ।

स्थानीय तहमा हुने उपनिर्वाचनका लागि जिल्लाले उम्मेदवार तोकिसकेको बताउँदै उनले सङ्घ र प्रदेशमा हुने निर्वाचनका लागि आज साँझ बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाउने छ भने । जनतामाझ लोकप्रिय नेतालाई उम्मेदवार बनाइने उनको जिकिर थियो । काङ्ग्रेसको जनमत अहिले पनि नघटेको बताउँदै उनले जनमतको कदर हुने गरी काम गरिने विश्वास व्यक्त गरे । भ्रातृ सङ्गठनको विवाद पनि केन्द्रीय समितिको बैठकबाट अन्त्य हुने सो अवसरमा उनले जानकारी दिए

प्रकाशित मिति: १७ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्