सुकुटे बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १३


 


मेलम्ची, १७ कात्तिक

दोलखाको मुडे देउरालीबाट काठमाडौँ गइरहेको बस अरनिको राजमार्गअन्तर्गत सुकुटेमा बिहान करीब १ बजे दुर्घटना भएको हो । त्यस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

काठमाडौँका लागि छुटेको वा २ ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही शव खोलाले बगाएको छ ।

दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी सवार थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार जारी रहेको जानकारी दिए ।
घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्