को हुन् विद्या भट्टराई ? जसलाई नेकपाले रवीन्द्रको क्षेत्रमा उम्मेदवार बनायो
काठमाडौं, कात्तिक १६
प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कलीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि मंसिर १४ मा कास्की २ मा उपचुनाव हुन लागेको हो ।
नेकपाकी उम्मेदवार विद्या दिवंगत नेता अधिकारीकी पत्नी हुन् । तर यो उपचुनाव विद्याको राजनीतिमा प्रवेश होइन, पुनरागमन हो । तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म भइसकेकी थिइन् ।
त्यसबेला रवीन्द्र महासचिव थिए । रवीन्द्रसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिबाट टाढिइन् । पछिल्लो समय आरआर क्याम्पस काठमाडौंकी उपप्राध्यापक पदमा कार्यरत थिइन् ।
रवीन्द्रको निधनपछि नेकपाका शीर्ष नेताहरु, कार्यकर्ता र शुभचिन्तकले उनलाई राजनीतिमा आउन आग्रह गरे । उनले पनि चुनाव लड्ने मनस्थिति बनाइसकेकी थिइन् ।
कास्की जिल्ला कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारका लागि विद्याको नाम सिफरिस गरेको थियो ।
प्रकाशित मिति: १६ कार्तिक २०७६, शनिबार