समृद्ध नेपालको अभियानलाई सफल बनाउन पाँचवटा आधार पार गर्नुपर्छः उपप्रधानमन्त्री पोखरेल


 


सुरुङ्गा, १५ कात्तिक

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सफल बनाउन पाँचवटा आधार पार गर्नुपर्ने बताएका छन ।

आज झापाको बिर्तामोडस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्कूल विभागले आयोजना गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन कृषिको आधुनिकीकरण, आवश्यकतामा आधारित उद्योग स्थापना, पर्यटन प्रवद्र्धनको विकास, ऊर्जा उत्पादन र भौतिक पूर्वाधारको विकास हुन जरुरी छ ।”

पार्टीका स्कूल विभाग प्रमुखसमेत रहेका मन्त्री पोखरेलले कृषिलाई व्यावसायिकीकरण गर्दै भू–उपयोग नीति बनाएर चाक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

सरकारले अब आवश्यकतामा आधारित उद्योगको स्थापना गर्दै औषधि, कपडा उद्योग, औद्योगिक क्षेत्र निर्माण र ऊर्जा उद्योग उत्पादनका क्षेत्रमा काम गर्ने उल्लेख गर्दै उनले धार्मिक र ऐतिहासिक क्षेत्रको पहिचान गर्दै पर्यटन प्रवद्र्धनमा जोड दिने बताए ।

उपप्रधानमन्त्री पोखरेलले ऊर्जा उत्पादन र पूर्वाधारको विकासमा सार्वजनिक खरीद ऐन नै बाधक रहेकाले त्यसलाई बदल्न सरकार लागि परेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार खडा गर्नसमेत सरकार लागि परेको छ भने ।

स्कूल विभागका प्रमुख रमेश गुरागाईंको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रधानमन्त्री पोखरेल, पार्टी स्कूल विभागका सहसंयोजक देवेन्द्र पौडेल, युदुराम भुसाल, स्कूल विभागका प्रदेश सहइञ्चार्ज सावित्रीकुमारी काफ्ले, नेकपाका प्रदेश अध्यक्ष दकेवराज घिमिरे, केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल, प्रदेश इञ्चार्ज भीम आचार्य, विदेश विभाग प्रमुख राम कार्कीलगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा माक्सवादी अर्थ शास्त्रका विषयमा ईश्वरी रिजाल, विभिन्न देशमा समाजवादका मोडल र नेपालको मोडेलका विषयमा देवेन्द्र पौडेल, समृद्धि र सरकारले गरेका कामका विषयमा देवराज घिमिरे, पार्टीको विधान र नियमावलीका विषयमा सावित्रीकुमारी काफ्ले, कम्युनिष्ट आन्दोलनको इतिहासका विषयमा राम कार्की, पार्टीको कार्यदीशा र कार्यभारका विषयमा भीम आचार्य तथा समसामयिक परिस्थिति र हाम्रो भूमिका विषयमा ईश्वर पोखरेलले प्रशिक्षण दिएका थिए ।

कात्तिक १४ र १५ गते आयोजना गरिएको सो कार्यक्रममा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, झापा इञ्चार्ज रवीन कोइरालालगायतले मुलुकको समसामयिक राजनीति र पार्टीको भूमिकाका विविध पक्षमाथि प्रकाश पारे ।

प्रकाशित मिति: १५ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्