प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’


 


काठमाडौँ, १४ कात्तिक

स्वास्थ्योपचारका क्रममा धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार र आज गरी दुई पटक डायलाइसिस सम्पन्न भएकाले  उनी आजै निवास फर्किएका छन ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाबारे बुझ्न अस्पताल पुग्नुभएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीको स्वास्थ्यावस्था सामान्य रहेको र केहीबेर आराम गरी आजै अस्पतालबाट घर फर्किएकाे जानकारी दिए ।

अध्यक्ष दाहालले भने, “प्रधानमन्त्रीको आजै डायलाइसिस भएको छ, चिकित्सकले मलाई बताएअनुसार एकैछिन विश्राम गरेर आज बालुवाटार पनि जान सक्छन, उनको हिजो एक चोटि डायलाइसिस भएको थियो, यसलाई पछि गर्नुपर्ने हो होइन त्यो चिकित्सकले नै भन्नेछन ।”

प्रधानमन्त्रीको स्वास्थ्यावस्था बुझ्न उपप्रधानमन्त्री ईश्वर पोखरेल बुधबार अस्पताल पुगेका थिए । प्रधानमन्त्रीको स्वास्थ्यावस्थालाई ध्यानमा राखेर अस्पतालले भेटघाट कम गर्न आग्रह गरेको छ ।

अस्पतालले बुधबार बेलुका जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यबारे आवश्यक परीक्षण पूरा भएपछि उनी निवास फर्कने जनाइएको थियो । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा बुधबार सो अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओली गत भदौ ५ देखि २० गतेसम्म सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस)बाट उपचार गरी स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति: १४ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्