प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल, दोस्रोपटक डायलाइसिस !


 


काठमाडौँ, कात्तिक १४

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था जटिल बनेको छ । पहिलो डायलाइसिसले काम नगरेपछि ओलीको दोस्रो डायलाइसिस गर्ने तयारी भइरहेको छ । टाउकाे दुख्ने र ज्वराेले स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । उनको आइसीयूमा राखेर उपचार गरिएको थियो । त्यहीँ पहिलो डायलाइसिस गरिएको थियो ।

त्यसबाट अवस्था सुधार नदेखिएको र परिणाम पनि राम्रो नआएपछि आज पुनः डायलाइसिस गर्ने तयारी भइरहेको ग्राण्डी स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको उपचारमा निजी चिकित्सक दिव्या सिंह शाहको टिम सक्रिय छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा क्रियाटिनिनको स्तर सामान्य भन्दा निकै नै माथि छ र डायलाइसिस पछि पनि त्यो कम भएको छैन । यस्तै प्रधानमन्त्रीलाई अहिले लो ग्रेड ज्वरो पनि आइरहेको छ। तर ज्वरोको कारण भने स्पष्ट भइसकेको छैन । चिकित्सकीय हिसाबमा इम्युनोसप्रेसिब खाइरहेको बिरामीको रगतमा संक्रमण देखिनु राम्रो मानिँदैन । त्यसैले हिजै उनको रगतको कल्चरका लागि पठाइएको छ । जसको रिपोर्ट आउन ७२ घण्टा लाग्छ ।

यद्यपि प्रधानमन्त्रीकी निजी चिकित्सक शाह र ग्राण्डी अस्पतालका निर्देशक चक्रराज पाण्डेले बुधबार साँझ विज्ञप्ति जारी गरेर प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको जनाएका थिए । ‘उहाँको स्वास्थ्यस्थिति सामान्य छ । सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ विज्ञप्तिमा भनिएको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्