ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


 


राजविराज, ११ कात्तिक

राजविराज–रुपनी सडकखण्डको राजविराज नगरपालिका–९ मलेठमा ट्र्याक्टरले ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबार मोटरसाइकल चालक रुपनी गाउँपालिका–५ मुसरहनियाका १९ वर्षीय दिपेश यादवको मृत्यु भएको प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।

ठक्करबाट यादवको दाहिने हात र पाखुरामा गम्भीर चोट लागेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको स१त ४३६९ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा ३८ प ७१९५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार रुपनी गाउँपालिका–५ कै २२ वर्षीय रुपेशकुमार खङ्गको दुवै खुट्टामा चोट लागेर घाइते भएका छन । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए ।

यस्तै कञ्चनपुर–फत्तेपुर सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा मोटरसाइकलको ठक्करबाट सप्तकोशी नगरपालिका–१ नयाँबजार बस्ने ३५ वर्षीय राजेश शर्माको घटनास्थलमै मृत्यु भएको छ । कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को ३३ प ५२७ नं को मोटरसाइकलले उनलाई ठक्कर दिइएको थियो ।

प्रकाशित मिति: ११ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्