सुधार केन्द्रमा बस्दै आएका युवक मृत अवस्थामा फेला


 


दमौली, ११ कात्तिक

तनहुँको व्यास नगरपालिका–१ रतौलीटारस्थित सुधार केन्द्रमा बस्दै आएका एक युवक आज मृत अवस्थामा फेला परेका छन् । बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई लर्निङहोम फाउण्डेशन नेपालद्वारा सञ्चालित सुधार केन्द्रमा बस्दै आएका २२ वर्षीय नवीन गुरुङ देवघाट गाउँपालिका–३ साराङघाटस्थित सेती नदीको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीयवासीले नदी किनारमा मृत अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गुरुङको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

फाउण्डेशनले लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना जगाउने काम गर्दै आइरहेको छ । गुरुङ विगत दुई महीनादेखि सोही सुधार केन्द्रमा बस्दै आएका थिए ।

कात्तिक ६ गते फाउण्डेशनबाट १२ युवा भागेपछि प्रहरीलाई खबर गरिएको थियो । अन्य ११ भने घर पुगे पनि गुरुङ घर नपुगेपछि प्रहरी र परिवारले उनको खोजी गरेको थियो । “त्यहाँबाट भागेका सबैको घरमा सोधपुछ गरेका थियौँ”, प्रहरी नायब उपरीक्षक लामिछानेले भने, “सबै जना घर पुगे पनि गुरुङ भने सम्पर्कविहीन भएका थिए”, प्रनाउ लामिछानेका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्