गोरखामा लोपोन्मुख प्रजातिको सालक फेला


 


गोरखा ११, कात्तिक

गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा आज बिहान लोपोन्मुख प्रजातिको सालक फेला परेको छ । फेला परेको सालक भारतीय प्रजातिको भएकोे डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए । नेपालमा भारतीय र चिनियाँ गरी दुई प्रजातिको सालक पाइने उनको भनाइ छ ।

“आज फेला परेको सालक तामे सालक हो । यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उनले भने । सालकको आहारा कमिला, धमिरालगायतका कीरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने बल्छौडीले बताए ।

लोपोन्मुख प्रजाति मानिने सालकको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी शिकार गर्ने गरेको पाइन्छ । यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइने बल्छौडीले जानकारी दिए ।

नेपाली सेनाको रणसिंह दल गण गोरखाले उद्धार गरी डिभिजन वन कार्यालय गोरखामा बुझाएको सो सालकलाई गोरखा नगरपालिकाको देउरालीमा रहेको राजदेवी सामुदायिक वनमा छाडिएको छ । नगरपालिकाको बोरकलोक फाँटको एक गोठमा फेला परेको सालकलाई उद्धार गरी डिभिजन वन कार्यालय गोरखालाई बुझाइएकोे गणपति उज्वल केसीले जानकारी दिए ।

प्रकाशित मिति: ११ कार्तिक २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्