अरुलाई स्वरोजगार बन्न सिकाउँदा सिकाउँदै जो आफै उद्यमी बने


 


अंकुश कुँवर, धनगढी, कार्तिक ९
पाँच वर्ष अघि धनगढी उपमहागनरपालिका वडा नम्बर ३ बोराडाँडीका मनोज पडाल जागिरे जीवन बिताइरहेका थिए । वि.स. २०६०/६१ पछि पडालले स्थानीय हरिहर बोर्डिङ स्कुल र बोराडाँडीकै त्रिभुवन माविमा गरेर झण्डै ६ वर्ष अध्यापन गराए ।

शिक्षण पेशापछि उहाँले गुडनेभर्स नामक गैरसरकारी संस्थामा पनि काम गर्ने अवसर पाए । संस्थामा साढे तीन वर्ष बढी समय पनि बिताए । संस्थामा काम गर्दैगर्दा उहाँले अरुलाई आयआर्जनमुलक काम गरेर स्वरोजगार बन्न सिकाउँथे ।

संस्थामा राम्रै पारिश्रमिकमा काम गरिरहेका पडालको मनमा त्यहीक्रममा नयाँ योजना फु¥यो, जागिर छोडेर आफै उद्यमी बन्ने । जागिरे अवधिमा अरुलाई आयआर्जनमुलक कामहरु गर्दै आफै स्वरोजगार बन्नुपर्छ भनेर सिकाउँदै आएका पडालले अन्तिममा आफै च्याउ खेतीतर्फ लाग्ने योजना बनाए ।

योजनालाई साकार रुप दिन गैरसरकारी संस्थाको राम्रो जागिर छोडेर च्याउ खेती सुरु गरे । अरुलाई सिकाउँदा सिकाउँदै च्याउ खेतीमा केही सम्भावना देखेर नै आफू यसतर्फ लागेको उनी बताउँछन् । वि.स. २०७० मा डेढ लाखको सानो लगानीमा एक घरबाट च्याउ खेती सुरु गरेका पडालले पाँच वर्षको अवधिमा अहिले च्याउ खेतीका चार वटा व्लग नै स्थापना गरिसकेका छन् ।

एक ब्लगमा झण्डै च्याउका दुई हजार व्याग (पोका) राखिने गरिएको छ । यसको अर्थ उनले एक वर्षमा १२ हजार भन्दा बढी च्याउका पोकाहरु उत्पादन गरेर बजारमा पुर्याइरहेका छन् । उनले केही आफ्नो र केही जग्गा भाडामा लिएर च्याउ खेती गरेका छन् ।

पडालले अहिले धनगढीमै तीन र चुरे गाउँपालिकाको खानीडाँडामा एक गरि चारवटा च्याउका ब्लग सञ्चालन गरेका छन् । तराई क्षेत्रमा गर्मीका कारण बाह्रै महिना च्याउ खेती गर्न नसकिने भएकाले उनले खानीडाँडामा पनि च्याउ व्यग सञ्चालन गरेका छन् । जसले गर्दा उनी बाह्रै महिना च्याउ उत्पादन गर्ने उद्यमी बन्म सफल भएका छन् ।

च्याउ खेती सुरु गरेको दुई वर्षपछि उनले फारवेष्टर्न एग्रो फर्म नै दर्ता गरेर व्यवसायलाई थप उचाई दिए । तर, उनले अझै पनि उहाँले बजारको मागअनुसार च्याउ पर्याउन सकेका छैनन् ।

जागिरे जीवन त्यागेर आफै उद्यमी बनेका पडालले अहिले १४ जनालाई जागिरको अवसरमा पनि दिएका छन् । डेढ लाखबाट सुरु गरेको उनको च्याउ खेतीको लगानी अहिले झण्डै ६० लाखसम्म पुगिसकेको छ । उनले अहिले च्याउ खेतीबाट झण्डै वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

‘जागिरबाट जति सन्तुष्टि मिल्थ्यो, त्यो भन्दा कैयौं गुणा आफैले गरेको कामबाट मिलिरहेको छ,’ उनले भने, ‘पहिलेदेखि नै आफै केही गर्नुपर्छ भन्ने भावनाबाट नै जागिर छोडेर यतातिर लागियो ।’ उनले सञ्चालन गर्नुभएको च्याउ फर्मको बिमा पनि गरिएको छ । जसले उनको यो व्यवसायलाई सुरक्षित पनि बनाएको छ ।

पहिचान र पैसा दुबै
डिग्रीसम्मको शिक्षा हाँसिल गरेर पनि जागिर गर्न छोडेर च्याउ खेतीतर्फ लागेका पडालले युवा पिढीलाई थप शिक्षा दिएका छन् । उनी युवाहरुका लागि प्रेरणाको स्रोत बन्न सफल भएका छन् ।

पडालले पढे लेखेका युवाहरु पनि कृषि पेशा अँगालेर राम्रो पैसा र पहिचान बनाउन सक्छन् भन्ने उदाहरण पेश गरेका छन् । युवा अवस्थामै च्याउका ब्लग नै स्थापना गरेर व्यवसाय गरेका पडालले इच्छाशक्ति भए जुनसुकै काम गरेर पनि नेपालमै बस्न सकिने बताए ।

कृषि पेशालाई हेर्ने नजरमा परिवर्तन नआएकै कारण युवाहरु यसतर्फ आकर्षित हुन नसकेको उनको भनाई छ । ‘सरकारी तवरबाटै कृषकलाई हेर्ने नजर राम्रो छैन, झुत्रे, झाम्रै मात्रै कृषक हुन्छन मनस्थिति अझै छ’ उनले भने, ‘म आफै पनि कुनै सरकारी कार्यालय वा मन्त्रालयमा जाँदा मलाई कृषक हो भनेर विश्वास गर्दैनन् ।’

उनले आफूलाई कृषकको परिचय दिन विवरण नै पेश गर्नुपर्ने अवस्था रहेको बताए । आफूले गरेको संघर्ष र परिश्रमबाट आफ्नो पहिचानसंगै पैसा पनि मिलिरहेको उनको भनाई छ । अब कृषि पेशातर्फ युवाहरु पनि लाग्न आग्रह गर्दै उनले भने, ‘कृषिलाई हेर्ने नजर परिवर्तन गर्न हामी युवाहरुले नै लाग्ने हो ।’

प्रकाशित मिति: ९ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्