प्रचण्डलाई ईश्वर पोखरेलको काउन्टर, भन्छन्ः सरकारको नेतृत्वबारे कुनै सहमति भएको छैन


 


काठमाडौं, कात्तिक ८

कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले सहमति कार्यान्वयन नभएकाे गुनासाे गरिरहेका बेला पाेखरेलले सहमति नै नभएकाे भनेर टिप्पणी गरेका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रष्ट पारे । कार्यवाहक प्रधानमन्त्री पोखरेलले दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको बताए ।

उनले दुुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुुनाले पार्टीभित्र छलफल र बहस हुुनुु सामान्य कुुरा भएकाले यसलाई हामीले विवाद भन्न नमिल्ने विचार राखे । अखबारमा आएका दुुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको टिप्पणी गर्दै उनले आवश्यकताअनुुसार दुुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्नुहुने धारणा व्यक्त गरे ।

रक्षामन्त्री पोखरेलले नेकपा विप्लव समूहले राखेको शर्तको आधारमा वार्ता हुुन नसक्ने स्पष्ट पार्दै शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनेलाई सदैव स्वागत गर्दछौँ भने । उनले सभामुख कसलाई बनाउने सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको पनि प्रष्ट पारे ।

प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्