सरकार निर्माणमा जुटिरहेको छ –कार्यबाहक प्रधानमन्त्री पोखरेल


 


विराटनगर, ८ कात्तिक
कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकार चुनाव देखि चुनावसम्मको मापन नगरी देश निर्माणमा जुटिरहेको छ भन्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कार्य समिति मोरङद्वारा आज यहाँ आयोजित शुभाकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको पहिलो वर्ष आधारवर्ष भएको र अव सरकार देश र जनताका सेवामा लागि परेको कुरामा जोड दिनु भयो ।

कार्यबाहक प्रधानमन्त्री पोखरेलले सरकारले आधार वर्षमा ३८० वटा कानून निर्माण गरिसकेको जानकारी दिँदै आधार वर्ष पछि दिने सेवाका लागि निर्मित कानूनहरुको संरचना निर्माण गरिरहेको धारणा राख्नु भयो ।उहाँले सरकार भूमि, कृषि र शिक्षा नीति बनाई सामाजिक सुरक्षा र औद्योगिक क्षेत्रमा काम गरी पशस्त रोजगारी सिर्जन गर्ने बाटो तर्फ अग्रसर छ भन्नु भयो । सरकार जलविद्युत, व्यापार वृद्धि, कृषिलाई व्यवस्थित गरी आधुनिकीकरण तर्फ कदम चालिसकेको स्पष्ट पार्दै कार्यबाहक प्रधानमन्त्री पोखरेलले सरकार नीति,नियम, कानूनका आधारमा सत्ता सञ्चालन गरिरहेको कुरामा जोड दिनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटिक सदस्य समेत रहनु भएका कार्यबाहक प्रधानमन्त्री पोखरेलले दुई वटा धार भएका कम्युनिष्ट पार्टीको एकताले पार्टीलाई नयाँ उचाईमा पु¥याएको छ भन्दै पार्टी स्वार्थ विशेषले नभई देश र जनताको आवश्यकताको आधारमा भएको हो भन्नु भयो । उहाँले महान एवं ऐतिहासिक यो एकताले नेपाली जनताको सुदूरभविष्यलाई उज्यालो तर्फ लैजाने विश्वास व्यक्त गर्नु भयो । कार्यबाहक प्रधानमन्त्री पोखरेलले नेपालीहरुको महान चाडपर्वले सबै नेपालीलाई एकसूत्रमा बाँधेको छ भन्दै चाडपर्वको अवसरमा सबैमा शुभकामना दिनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पद्धतिमा चल्न सक्यो भने कसैले पनि पराजीत गर्न नसक्ने बताउनु भयो ।
उहाँले विचार, संगठन, भावना, राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभावको आधारमा पार्टी एकीकरण भएको चर्चा गर्दै पार्टी एकीकरणले देश र देश बाहिर पनि उत्साह बढेको छ भन्नुभयो ।

अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको उदाहरण दिँदै आन्तरिक एकता र अनुशासनले नै देश विकसित भएको चर्चा गर्नुभयो । उहाँले नेताहरु बीच फुटाउन चलखेल नभएका होइन भन्दै एकतालाई सुदृढ र रक्षा गर्दै अघि बढ्नु पर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले आँखाको नानी जस्तै एकतालाई बचाउनु पर्ने भन्दै समाजवादको अधारमा समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकिने धारणा राख्नु भयो ।

उहाँले जीत र हारको अवस्थम के हुन्छ विगतका दिनलाई सम्झन आग्रह गर्दै नेपालको पछिल्लो समयमा अन्तराष्ट्रिय सम्बन्ध सुदृढ र विकसित हुँदै गएको छ भन्नुभयो । चीनमा पार्टी विरोधी क्रियाकलाप गर्नेलाई पार्टीबाट निस्काशन गर्ने गरेको इतिहास कोट्याउँदै उहाँले विचार मिलेर भएको एकीकरणले पार्टी शान्ति, प्रतिस्पर्धा र समाजवादको बाटोमा हिड्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चाडपर्वको अवसरमा सबै नेपालीलाई हार्दिक शुभकामना पनि व्यक्त गर्नुभयो ।

प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राई प्रदेश सरकारले जनताको सुखी र खुशी घरदैलोसम्म पु¥याउन दत्तचित भएर काम गरिरहेको छ भन्नु भयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश नं.१ इन्चार्ज भीम आचार्यले सङ्घीयता विकासको आधार भएकोले कम्युनिष्टहरु एक भएर अघि बढ्नु पर्छ भन्नु भयो ।

प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्