नेपाल–भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाइने


 


काठमाडौँ, ७ कात्तिक

पशुपति क्षेत्र विकास कोषले नेपाल भारतमैत्री पशुपति धर्मशालामा तीनतारे होटल नचलाइने स्पष्ट पारेको छ ।

धर्मशालामा बस्ने तीर्थयात्रीले सुरक्षा, सरसफाइ, शौचालय, भोजनलगायत उच्च कोटीका सुविधा पाउने गरी सञ्चालकले सेवा प्रदान गर्नुपर्ने गरी व्यवस्था गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

धर्मशालामा तीनतारे होटल चलाउन लागिएको भनी गरिएको प्रचारप्रसारप्रति कोषको ध्यानाकर्षण भएको जनाइएको छ । “सार्वजनिक खरीद ऐन तथा नियमावलीबमोजिम ठेक्का बन्दोबस्त गरी सार्वजनिक सूचना प्रकाशित गरेर खुला प्रतिष्पर्धाबाट सञ्चालनको जिम्मेवारी दिइएको हो, तीर्थयात्रीको प्रवृत्ति शौचालयसहितको कोठामा बस्नेतर्फ बढ्दै गएकाले १० जनाभन्दा बढी अट्नेलाई केही सुधार गरिएको हो”, उनले भने ।

धर्मशालामा २८८ कोठा रहेको भन्ने तथ्यसमेत सही नभएको कोषले विज्ञप्तिमा उल्लेख गरेको छ । धर्मशालामा जम्मा ८२ कोठा रहेको जनाइएको छ । धर्मशालामा ३९० जना यात्रु अटाउने छन् । थोरै शुल्कमा धेरै सुविधा दिने गरी कोठाको पुनःसंरचना गरिएको कोषले जनाएको छ ।

ठूला सवारी लिई समूहमा आउने तीर्थयात्रीलाई सामूहिकरुपमै बस्नसक्ने व्यवस्था पनि गरिएको सदस्य सचिव ढकालले बताए । सामूहिक शयन कक्ष भएको कोठामा बस्ने तीर्थयात्रीले रु ३५० भन्दा बढी तिर्नु पर्दैन ।

कोषको मूल उद्देश्य धर्मशालाबाट नाफा कमाउनु नरहेको उनको भनाइ छ । तीर्थयात्रीको क्षमताअनुसारका न्यूनतम् सुविधा उपलब्ध गराउने उद्देश्यअनुसार नै धर्मशाला सञ्चालन गरी सुविधा दिइने कोषले जनाएको छ ।

भारत सरकारको सहयोगमा निर्माण भएको धर्मशाला बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष भदौ १५ गते नेपाली समकक्षी केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका थिए ।

तिलगङ्गा आँखा अस्पतालसँगै कोषले उपलब्ध गराएको १६ रोपनी क्षेत्रफलमा फैलिएको धर्मशाला निर्माणका लागि रु २२ करोड लागेको थियो । भारत सरकारले नै धर्मशाला निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित मिति: ७ कार्तिक २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्