यसपालीकाे भाइटीकाको शुभ साइत सार्वजनिक
काठमाडौँ, ३ कात्तिक
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।
समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए ।
कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि दिनभर टीका लगाउन कुनै समस्या छैन ।
यस वर्ष यमपञ्चक कात्तिक ८ गते शुक्रबारदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक ९ गते शनिबार काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि यसै दिन परेको छ ।
कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताए ।
गाई, गोरु र आत्म(म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म(म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ ।
कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।
प्रकाशित मिति: ३ कार्तिक २०७६, आइतबार