म नेपालमा जन्मेको हुँ, नेपालीहरुसँग मेरो घनिष्ट सम्बन्ध छः भुटानी राजा


 


काठमाडौं, कात्तिक २

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् । भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए ।

‘नेपाल र नेपाली जनतासँग मेरो निकट सम्बन्ध छ । भावनात्मक सम्बन्ध छ । किनकी म नेपालमा जन्मेको हो’, राजाको भनाई उद्धृत गर्दै राजदूत आचार्यले भने । राजा जिग्मेले नेपाल र भुटानबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको र दुबै देश भूपरिवेष्ठित रहेकाले मिलेर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।

राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो । उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो । साथै नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो ।

राजा जिग्मेसँगको भेटमा राजदूत आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको मित्रता सन्देश सुनाएका थिए । आचार्यले उच्चस्तरीय भ्रमणको आदानप्रदान सहित दुबै देशका मैत्री सम्बन्धहरुलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।

जवाफमा भुटानका राजाले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाईसहित शुभकामना दिए । राजदूतलाई सफल कार्यकालको लागि शुभकामना समेत दिए । राजदूत आचार्यले भुटानी प्रधानमन्त्री डा. लोटे टिसिरिङ्गसँग पनि भेट गरेका थिए । भेटमा नेपाल र भुटानको ऐतिहासिक सांस्कृतिक समानता तथा नेपाल सरकारकाे भ्रमण वर्ष २०२० काे प्रवर्द्धन बारे छलफल भएको थियो ।

प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्