राष्ट्रपति भण्डारीलाई जापानले बोलायो, भोलि जाने


 


काठमाडौं, कात्तिक २

राष्ट्रपति विद्यादेवी भण्डारी जापान भ्रमणमा जाने भएकी छिन् । हाल म्यानमार भ्रमणमा रहेकी भण्डारी जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान जान लागेकी हुन् ।

जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा आगामी कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी म्यानमारको राजकीय भ्रमण सम्पन्न गरी त्यहाँबाट टोकियो प्रस्थान गर्ने छिन् । राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिने छिन् । उक्त समारोहपछि सम्राट नारुहितोले आयोजना गर्ने राजकीय भोजमा सरिक हुनेछिन् ।

भ्रमणका अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्ने छिन् । राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने छिन् । राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: २ कार्तिक २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्