जिउँदै मान्छे जलाउने आलमको पक्षमा उभिए देउवाः सर्वत्र विरोध, गगन र विश्वप्रकाशले के भने?


 


काठमाडौं, कात्तिक १

इटा भट्टामा जिउँदै मान्छे जलाएर मार्ने घटनाको मुख्य अभियुक्तको अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको गिरफ्तारीलाई सभापति शेरबहादुर देउवाले ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताएका छन् ।

आलममाथि बम विस्फोटमा घाइते भएका १३ जनालाई इटा भट्टामा जिउँदै जलाएर मारेको अभियोग छ । यहीँ अभियोगमा उनीमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

भक्तपुरमा बिहीबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले १२ वर्ष अघिको मुद्दालाई ब्युताएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाए । ‘आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षड्यन्त्र सुरु भएको छ’ सभापति देउवाले भने, ‘१२ वर्ष अघिको मुद्दालाई ब्युताएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको छ ।’

कार्यक्रममा तत्कालिन गृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सञ्चारमाध्यमले समेत षडयन्त्रमुलक रुपमा कांग्रेसको विरुद्धमा लागि परेको गुनासो गरे । ‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर काङ्ग्रेसविरुद्ध लागेका छन्, काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो’ उनले भने ।

प्रतिपक्षी दलका नेता एवं पार्टी सभापति देउवाको यस्तो अभिव्यक्ति समाजिक सञ्जालमा उनको कडा आलोचना भएको छ । अनुसन्धानमा सहयोग गरेर कानुनी राजको वकालत गर्नुपर्नेमा अपराध गर्नेको संरक्षणमा बोलेको भन्दै देउवाको चर्काे आलोचना भइरहेको छ । विपक्षीमात्रै होइन पार्टीभित्रैबाट देउवाको आलोचना सुरु भएको छ ।

यसअघि युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माले आलम पक्राउ प्रकरणमा दोषी उम्किन नहुने, निर्दाेष फस्न नहुने अभिव्यक्ति दिएर प्रहरी अनुसन्धानमा साथ समर्थन प्रकट गरेका बेला देउवाको अभिव्यक्तिले कांग्रेस पार्टी नै आलोचनाको सिकार भएको छ । त्यस्तै यसअघि अर्का युवा नेता प्रदीप पौडेलले पनि कांग्रेस भएकै कारणले पूर्वाग्रही रुपमा आलमलाई थुनामा राख्न नहुने भन्ने अभिव्यक्ति दिएर अलोचित भएका थिए ।

प्रकाशित मिति: १ कार्तिक २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्