प्रधानमन्त्रीले भनेः आँखा चिम्लेर केही भएन भन्ने? आँखा खोलेर हेर्नुस्, अनि देख्नुहुनेछ सरकारका कामैकाम


 


काठमाडौं, असोज ३०

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन्।

कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै उनले आफ्नो देश आफैले बनाउनु पर्ने धारणा राखे।

‘कानूनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ’ उनले भने, ‘केही पनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला, तिनीहरुले आँखा चिम्लेर हेरेको हुनसक्छ, आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेका छन्।’

उनले जनताका लागि धेरै काम भएका बताएका छन् । ‘बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण भएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएका छन्।’

प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध रहेको चर्चा गर्दै विविधतामा एकता भएको बताए। उनले विविधताको एकतालाई कसैले विखण्डन गर्न नसक्ने उल्लेख गरे। एकताको बलको आधारमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन उनले आह्वानसमेत गरे।

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्