नेकपाको चियापानमै माधवलाई ईश्वरको काउन्टरः प्रधानमन्त्रीकै बोली बोलेपछि…


 


काठमाडौं– नेकपाको चियापानमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलको कुरा बाझिएका छन् । तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने दाबी गरेका नेता नेपाललाई काउन्टर दिँदै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीनिकट उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने संकेत गरेका छन्। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिईरहेका बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो।

नेकपा सचिवालयका सदस्य समेत रहेका उनले मन्त्रिपरिषद पुनर्गठन गर्ने कि नगर्ने भन्ने विषय प्रधानमन्त्रीको स्वविवेकीय अधिकार भएकाले त्यसमा अन्यथा टिप्पणी गरिरहन जरुरी नभएको पनि स्पष्ट पारे। बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले आफ्ना दलका नेताहरुसँग परामर्श गरेर मन्त्रिपरिषद पुनर्गठन गर्न सक्ने पनि बताए। मन्त्रीहरु परिवर्तन हुन सक्छन,’ उपप्रधानमन्त्री पोखरेलले भने ‘यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो, त्यसकारण यसमा अन्यथा टिप्पणी गर्नुपर्ने जरुरी छैन्।’

चियापान कार्यक्रममै नेता नेपालले पनि मन्त्रिपरिषद पुनर्गठन नहुने दाबी गरेका थिए। पछिल्लो समय सरकारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड मन्त्री फेर्ने निष्कर्षमा पुगेको बताइन्छ ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्