राष्ट्रपति भण्डारी आज म्यान्मार जाँदै


 


काठमाडौं, असोज २९

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्दैछिन् । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नेछिन् । राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् । म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ । यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नेछिन् । राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने जनाइएको छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल बुधबार बिहान नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्माको राजधानी नेपित पुग्नेछ ।

दक्षिण एशियाको नेपाल र दक्षिणपूर्वी एशियामा पर्ने म्यान्मा र दुवै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य हुन् । नेपालसँग म्यान्माको सम्बन्ध १५० वर्ष पुरानो छ । बौद्धधर्मले दुवै देशलाई अझै निकट बनाएको छ । दुई देशबीच सन् १९६० मार्च १९ (विसं २०१६ चैत ६) राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तत्कालीन राजा महेन्द्रले विसं २०२६ तथा राजा वीरेन्द्रले २०३६ र प्रधानमन्त्री कीर्तिनिधि विष्ट तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७० फागुन २० ९सन् २०१४ मार्च ४० मा भएको बिम्स्टेक सम्मेलनका बेला ‘स्वर्णभूमि’मा प्रधानमन्त्रीस्तरमा भ्रमण भएदेखि नेपालबाट उच्चस्तरको भ्रमण भएको छैन । सन् १९८९ अघि बर्मा नाम रहेको म्यान्माको राजधानी सन् २००६ देखि यङ्गोनबाट नेपित सारिएको छ ।

तत्कालीन राष्ट्रपति ने वीनले सन् १९६६ (२०२३ तिर) र १९७७ (२०३४ तिर) तथा प्रधानमन्त्री ऊ सेन विङले सन् १९७५ (विसं २०३२ तिर) मा नेपाल भ्रमण गरेका थिए । प्रजातन्त्रवादी नेत्री तथा धम्मावती गुरुमाकी चेली आङ सान सु चीले बेलाबेला नेपाल भ्रमण गरेकी छिन् । दुई देशबीच राजनीतिक, कूटनीतिक, सांस्कृतिक तहबाट भ्रमणको आदानप्रदान भइरहेको छ । सन् २०१६ । १७ मा करीब २५ हजार म्यान्मालीले नेपाल भ्रमण गरेका थिए । अठासी प्रतिशत बौद्ध धर्मावलम्बी भएको म्यान्माले लुम्बिनीमा एक पेगोडा र गुम्बा निर्माण गरेको छ ।

नेपालले प्रदान गरेको गौतमबुद्धको जीवनी झल्कने काठका १६ तख्ता याङ्गुन (रङ्गुन) स्थित श्वे दागोन गुम्बामा राखिएको छ । गौतम बुद्धले आफूले बुद्धत्व प्राप्त गरेपछि केही भिक्षुहरुलाई आफ्नो केश दिएको र त्यसैबाट त्यहाँ चैत्य निर्माण भएको बताइन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र युनियन अफ म्यान्मा उद्योग वाणिज्य महासङ्घबीच समझदारी भए पनि त्यति सन्तोषजनक भने छैन । सन् २०१२ अक्टोबर (विसं २०६९ असोजतिर) देखि नेपालका लागि प्रवेशाज्ञा आवेदन दिने म्यान्मालीको सङ्ख्या बढेको यङ्गोनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

विभिन्न पेशा व्यवसाय गरी बसेका नेपाल मूलका बर्मेली म्यान्मामा करीब दुई लाख छन् जो नेपाली संस्कृति मान्छन् । विसं २०५४ मा म्यान्माका ठाकुरप्रसाद गुरागाईँले नेपालको प्रतिष्ठित जगदम्बा पुरस्कार प्राप्त गरेका थिए । नेपालीहरु कृषि, व्यापार व्यवसायमा संलग्न छन् । म्यान्माका मन्दिरहरुमा खोलिएका पाठशालामा नेपाली भाषा, साहित्य, धर्म र संस्कृतिबारे अध्ययनअध्यापन हुन्छ । नेपाल म्यान्माबीच जनस्तरमा राम्रो सम्बन्ध छ । सयभन्दा बढी जातीय समूह रहेको म्यान्माका धार्मिक पर्यटक नेपालमा आकर्षण गर्न सकिन्छ ।

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्