देउवाले स्वीकार गरे चिनियाँ राष्ट्रपतिको प्रस्ताव


 


काठमाडौं, असोज २८

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रस्ताव स्वीकार गरेका छन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्हुवाका अनुसार नेपाल भ्रमणका क्रममा देउवासँग भेट गर्दै राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) नेपाली कांग्रेस पार्टीसँग सम्पर्क कायम राख्न र आदानप्रदान तथा सहयोग पुर्याउन इच्छुक रहेको प्रस्ताव राखेका थिए।

जवाफमा देउवाले नेपाली कांग्रेस पार्टी सीपीसीसँग मैत्रीपूर्ण कुराकानी अगाडि बढाउन तयार रहेको बताए। यसप्रति खुसी व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले देउवालाई चीन भ्रमणको निम्तो समेत दिए।
राष्ट्रपति सीले नेपाली कांग्रेस पार्टीको चीनसँग ऐतिहासिक सम्बन्ध रहेको बताउँदै आफ्नो शासनकालमा कांग्रेसले चीन–नेपाल सम्बन्धमा पुर्याएको योगदान चिनियाँ जनताले नबिर्सिने स्पष्ट पारे।

चीन र नेपाल मैत्री छिमेकीका रुपमा सधै राम्रो भाई र असल मित्र भएको बताउँदै सीले जुनसुकै पार्टी सत्तामा रहे पनि दुबै देशले स्थिर र मैत्री सम्बन्ध कायम राख्ने विश्वास व्यक्त गरे।

भेटमा देउवाले नेपालको विकासमा दीर्घकालिन सहयोग र सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई जोगाउन गरेको प्रयासका लागि चीनलाई धन्यवाद दिए। नेपालले एक चीन नीतिलाई दृढतापूर्वक पालना गर्ने र कुनै पनि सेनालाई नेपालमा चीनविरोधी विभाजनवादी गतिविधिमा संलग्न हुन नदिने स्पष्ट पारे।

देउवाले आफू प्रधानमन्त्री हुँदा तत्कालिन राष्ट्रपति जियाङ जेमिनलाई नेपालमा स्वागत गरेको स्मरण गरेका थिए।

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्