चिनियाँ राष्ट्रपतिले ‘पुरानो मित्र’ भन्दै गरे ओली र प्रचण्डको प्रशंसा, राखे यस्तो प्रस्ताव


 


काठमाडौं, असोज २८

दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन्।

चीनको सरकारी समाचार संस्था सिन्हुवाका अनुसार नेपालमा भव्य स्वागत तथा सम्मान पाएका राष्ट्रपति सीले प्रचण्डसँगको भेटमा दुबै नेताको प्रशंसा गरेका हुन्। सीले पार्टी एकीकरण गर्ने ओली र प्रचण्डको निर्णय साहसिक कदम र नेपालकोे हितमा भएको पनि उल्लेख गरे।

‘तपाई नेपालको एक अनुभवी राजनीतिज्ञ र चिनियाँ जनताको राम्रो तथा पुरानो मित्र पनि हुनुहुन्छ’, सीले प्रचण्डको प्रशंसा गर्दै भने, ‘गत वर्ष तपाई र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेर राजनीतिक निर्णय गर्नुभयो, जसले नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासको नयाँ चरण खोल्यो।’

दुई नेताबीच नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तरदलीय आदानप्रदानलाई सुदृढ बनाउने सहमति समेत भएको छ।

चीन र नेपाल हिमाल र नदीले बाँधिएको भन्दै सीले ओठ र दाँतजस्तै सम्बन्ध रहेको उल्लेख गरे। उनले नेपालको विकासमा चीनको सहयोग अझै बढ्ने र नेपालको हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत जनाए।

दुबै पार्टी मार्क्सवादी दृष्टिकोणबाट निर्देशित भएकाले नेकपासँग अन्तरदलीय आदानप्रदान सुदृढीकरण गर्न, अदानप्रदानको लागि नियमित संयन्त्र स्थापना गर्न र पार्टी निर्माण र राज्य शासनमा एकअर्काको अनुभवबाट अघि बढ्न सीले प्रस्ताव समेत गरे। साथै उनले नयाँ प्रकारका अन्तरपार्टी सम्बन्धहरुर निर्माण गनृका लागि आपसी सम्मान, आपसी शिक्षा र साझा आधारको खोजी गर्दै जाने योजना समेत सुनाए।

भेटमा प्रचण्डले सीलाई न्यायो स्वागत गर्दै जनगणतन्त्र चीनको ७० औं वर्षगाँठका अवसरमा बधाई दिए। साथै चिनियाँ कम्युनिस्ट पार्टीसँग दीर्घकालिन सहकार्य सम्बन्ध स्थापित गर्न चाहेको बताए। उनले सीको भ्रमणले नेपाल चीन सम्बन्धलाई उचाईमा पुर्याउने र नेपालको राष्ट्रिय विकास र समृद्धि प्राप्त गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २८ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्