मन्त्री फेर्न ओली र प्रचण्डबीच बालुवाटारमा २ घण्टा छलफल, को को हट्दैछन् ?


 


काठमाडौं, असोज २७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भएको छ । करिब २ घण्टासम्म छलफल भएको बुझिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको समीक्षा तथा सरकारका कामकारवाही प्रभावकारिताका विषयमा बसेको बैठकमा मन्त्रीहरु फेरेर सरकारलाई थप सक्रिय बनाउने विषयमा छलफल भएको केन्द्रीय सचिवालयका एक सदस्यले बताए।

उनका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पूर्वएमाले र पूर्वमाओवादीको भागवण्डामा मन्त्री बनेर काम नगर्नेहरुलाई पदबाट हटाउने विषयमा समझदारी भएको छ। काम नगर्नेलाई हटाएर काम गर्ने नयाँ अनुहार ल्याउने समझदारी भएको बताइएको छ।

उसो त चिनियाँ राष्ट्रपतिले पनि जनताको मन जित्नेगरी काम गर्न प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई सुझाव दिइसकेका छन् । यस्तो बेला सरकारका कामकारवाही जनताको मन जित्नेगरी प्रभावकारी बनाउन ओली प्रचण्डमाथि दबाब परेको बताइएको छ ।

को को हट्दैछन्?

प्रारम्भिक तयारीअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योगमन्त्री मात्रिका प्रसाद यादब, कृषिमन्त्री चन्द्रपाणी खनाल र खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई सरकारबाट फिर्ता बोलाउने नेकपाको तयारी छ । उनीहरुको ठाउँमा नयाँ अनुहारलाई पठाइने छ।

प्रकाशित मिति: २७ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्