जब पूर्व माओवादी कमाण्डरले रामचन्द्र पौडेलको हातबाट दशैं टीका लगाए…


 


काठमाडौं, असोज २७
राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने उक्ति प्रख्यात छ । हुन पनि दसैंको एउटा संयोगले यसलाई पुष्टि गरेको छ । यसपटकको दसैंमा कुनै समयका वर्ग ‘दुश्मन’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन माओवादीको जनमुक्ति सेनाका एक कमाण्डरलाई टीका लगाइदिएका छन् ।

बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष राजन थापा सुवासले कांग्रेस वरिष्ठ नेता पौडेलकै निवासमा पुगेर टीका र आशिर्वाद थापेका हुन् । ‘रामचन्द्र दाइ आदरणीय नेता हुनुहुन्छ, उहाँको सरल व्यवहारप्रति मेरो साधुवाद छ, दसैंमा एक जना नेपाली राजनीतिको अग्रजका नाताले उहाँसँग टीका थाप्न गएको हुँ,’ थापाले भने ।

कांग्रेस वरिष्ठ नेता पौडेलले पनि थापा असल, कर्मठ र जुझारु युवा नेताको संज्ञा दिए । शान्तिपूर्ण बाटोबाट राष्ट्र निर्माणमा योगदान पुर्‍याउन पौडेलले थापालाई आशिर्वाद दिए । साथै अधुरो शान्ति प्रकृयालाई पूर्णता दिन र शहीद परिवार, बेपत्ता परिवार घाइते बालसेनाको मुद्दाका पीडितहरु अन्यायको भुमरीमा रहेको बताउँदै पौडेलले न्यायका निम्ति अग्रसरता दिने बताए ।

‘माओवादीको जनयुद्धमा धेरै पीडित भएका छन्, उनीहरुलाई न्याय दिनका लागि अब नेपाली कांग्रेस पार्टीले अग्रणी भूमिका खेल्छ, ढुक्क हुनुहोस्,’ पौडेलले भने । नेपालन्यूजबाट

प्रकाशित मिति: २७ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्