नेपाली नेतासँगको भेटमा चिनियाँ राष्ट्रपतिले किन दिए हड्डी भाँच्ने धम्की ?


 


काठमाडौं, असोज २७

उत्तरी छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ दुई दिवसीय नेपाल भ्रमण सम्पन्न गरेर स्वदेश फर्किसकेका छन् । नेपालमा उनको भव्य स्वागत तथा ऐतिहासिक सम्झौताहरु समेत भए । तर, नेपाली नेताहरुसँगको भेटमा राष्ट्रपति सीले कडा शब्दमा चेतावनी दिएको खुलेको छ । चीनको सरकारी टेलिभिजन सिसीटिभीले उल्लेख गरेअनुसार राष्ट्रपति सीले नेपाल भ्रमणकै बेला चीनलाई फुटाउने प्रयास गरे हड्डी भाँचिदिने चेतावनी दिएका हुन्।

चीनमा कसैले स्वतन्त्रताको वकालत गरेमा उनीहरुको हड्डी भाँच्ने सी को चेतावनी थियो। यो चेतावनी नेपाली नेताहरुलाई एक चीन नीतिप्रति थप प्रतिबद्ध बनाउने तथा नेपालमा चीनविरोधी गतिविधि गर्नेविरुद्ध रहेको बताइएको छ। नेपालका नेताहरुसँगको वार्ताको समयमा सीले भने, ‘यदि चीनको कुनै पनि भुभागमा मुलुकलाई बाड्ने कोशिश गरे भने उनीहरुको हड्डी तोडिने छ। कुनै बाहिरी शक्तिले यस किसिमको गतिविधिको समर्थन गरेका छन् भने उनीहरु चीनको नजरमा दिनमै सपना देख्नेहरु हुन् ।’

सी को भ्रमणपूर्व उनको स्वागतका लागि बनाइएको चित्रहरु च्यातिनु, फ्रि तिब्बत अभियन्ता पक्राउ पर्न र हङकङ प्रदर्शनमा समेत नेपालीहरु सहभागी भइरहेका बेला उक्त चेतावनीलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: २७ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्