सी चिनपिङ र देउवाबीच भेटवार्ता, के-के भयो कुराकानी ?
काठमाडौं, असोज २६
कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हित र समृद्धिमा सहयोग पुग्ने परियोजनाहरूमा चिनियाँ लगानीको आफूहरूले स्वागत गर्ने बताएका छन् । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको भेटमा उनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई आफूहरूको समर्थन रहेको धारणासमेत राखेका छन् ।
राष्ट्रपति सीले काठमाडौं उत्रेपछि सत्तारुढ दलका नेताहरूभन्दा पहिले प्रमुख विपक्षी दल कांग्रेसका सभापति देउवालाई छुट्टै भेटेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको औपचारिक भेटपछि सीले उनलाई सोल्टी होटलमै २० मिनेट भेटेका हुन् ।
भेटमा देउवाले नेपालमा सञ्चालित परियोजनामा चिनियाँ लगानीको अपेक्षा गरेको बताएका थिए । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार राष्ट्रपति सीले एक चीन नीतिको पक्षमा कांग्रेसले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबीचको पार्टीगत सम्बन्ध विस्तारबारे पनि कुरा भएको थियो । राष्ट्रपति सीले पार्टीगत सम्बन्ध विस्तारमा आफूहरूको जोड रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्ध थप सुदृढ बनाउँदै लैजानुपर्ने बताएका थिए ।
कांग्रेसले पनि यसअघि चिनियाँ कम्युनिस्ट पार्टीसँगको पार्टीगत सम्बन्ध विस्तारको अपेक्षा राखेको थियो । त्यही अपेक्षाअनुसार शनिबारको भेटमा कुराकानी भएपछि राष्ट्रपति सीले पार्टीगत सम्बन्ध झन् राम्रो बनाउने बताउँदै देउवालाई चीन भ्रमणको निम्तो दिएका छन् ।
प्रकाशित मिति: २६ आश्विन २०७६, आइतबार