चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौंमा, हार्दिक स्वागत
काठमाडौं, असोज २५
चिनियाँ राष्ट्रपति सी चिनफिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । आजै राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता हुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिने अनौपचारिक शिखर सम्मेलनका लागि हिजो तमिलनाडू पुगेका राष्ट्रपति सी चेन्नईबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए । आज साँझ नै नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले पनि राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
भोलि बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सीसँग भेटवार्ता गर्नेछन् । त्यसपछि सी नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीको वार्ता हुनेछ ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमै नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षरसमेत हुनेछ । १९–२० मंसिर २०५३ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले भ्रमण गरे यता कुनै पनि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका थिएनन् । राष्ट्रपति सी भोलि दिउँसो १२ः३० बजे चीन फर्कनेछन् ।
प्रकाशित मिति: २५ आश्विन २०७६, शनिबार