रामकुमारी झाँक्रीले ‘भ्रष्टाचार गरेको १२ अर्ब खोई’ भनेपछि आत्तिए गोकुल बाँस्कोटा !


 


काठमाडौं, असोज १३

नेपाल कम्युनिस्ट पार्टीकी युवा नेतृ रामकुमारी झाँक्रीले मन्त्रीहरु भ्रष्टाचारमा संलग्न भएको खुलासा त गरिन नै। कुन मन्त्री कुन घोटालामा र कति घोटाला गरेको समेत खुलाइन्। ‘मन्त्रीले मात्रै उठाएको पैसा खाएन भने धेरै चिज मिलिहाल्छ’, मन्त्रीबाटै भ्रष्टाचार भइरहेको भण्डाफोर गर्दै उनले भनिन, ‘यो त म भन्छु, मलाई कहाँ लगेर झुण्ड्याउने हो झुण्ड्याउनु ।’

पत्रकार श्रीराम पौडेलसँगको एक अन्तर्वार्तामा उनले पछिल्लो समय सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा व्यापक रुपमा मुछिएको नेपाल टेलिकमको फोरजी विस्तारमा १२ करोड घोटालाको प्रसंग पनि उठाइन्। संसदीय समितिमा समेत यो प्रकरणलाई जोडतोडका साथ उठाएकी झाक्रीले सञ्चार मन्त्रालयले पहिला एउटा कबुल गरेर काम अर्कै गरेको र यसबाट १२ अर्ब बराबरको भ्रष्टाचार भएको बताइन्। उनले यसमा कुनै छानविन नभएकोमा आक्रोश समेत पोखिन।

नेतृ झाक्रीले टेलिकमको थ्रीजीलाई फोरजीमा स्थानान्तरण गर्ने विषयमा अनियमितता भएको र त्यसमाथि छानविन नभएको भन्दै असन्तुष्टि जनाएकी थिइन्। सञ्चारमन्त्री बाँस्कोटातर्फ संकेत गर्दै उनले १२ अर्बको घोटाला कहाँ गयो भनी प्रश्न समेत गरेकी थिइन्।

सञ्चारमन्त्री आत्तिए

पार्टीभित्रैबाट भ्रष्टाचारको कुरा उठेपछि सञ्चारमन्त्री बाँस्कोटा आत्तिएका छन्। गत बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ‘तपाईले १२ अर्ब भ्रष्टाचार गरेको भन्नेबारे समाचार आएको छ, नेताहरु पनि बोलेका छन्, सत्य के हो स्पष्ट बताइदिनुस्’ भनेर प्रश्न गरेका थिए।

१२ अर्ब भ्रष्टाचारको प्रश्न आउने वित्तिकै पत्रकार सम्मेलनमै मन्त्री बाँस्कोटा झोक्किए। मन्त्री बाँस्कोटाले यो प्रश्नको जवाफमा ७ मिनेट लगाएर रवाफका साथ दिए। सुरुमा त उनले जवाफ संसदीय समितिमा दिइसकेको भन्दै ठाडै अस्वीकार गरे। तर, फेरि ‘तपाईहरुले सोधिहाल्नुभयो’ भनेर प्रष्टिकरण दिँदै गए। ‘१२ अर्ब हैन १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने म जे सजाय भोग्नुपर्छ त्यो सम्पूर्ण भोग्न तयार छु’, उनले आत्तिँदै भने, ‘त्यसकारण अफवाहको पछाडि लाग्नुपर्ने कारण छैन।’

मन्त्री बाँस्कोटाले यस विषयमा छानविन गरे आफूलाई कुनै परवाह नहुने पनि बताए। आफ्नो बारे छानविन गर्न उनले चुनौती समेत दिए। ‘छानविन गर्ने कुन कुन निकाय छन्’, उनले भने, ‘अख्तियार, संसदीय समिति, सिआइबी, नेपाल सरकार पनि आफैंले छानविन गर्न सक्छ। नेपाली मिडियाले तथ्य र सत्य छानविन गर्न सक्छ।’

बाँस्कोटा यतिमै रोकिएनन्। ‘त्यसबाहेक नाम चलेका विदेशी निकाय सिआइए, एजिबी, एम सिक्स ल्याएर छानविन गरे पनि मलाई कुनै परवाह हुने छैन’, उनले भने, ‘यस्ता गलत, अर्थहिन, बेकुप तरिकाको जवाफ दिनुपर्छ भन्ने ठान्दिन।’ बाँस्कोटामाथि नेपाल टेलिकमको फोरजी ठेक्कामा १२ अर्ब भ्रष्टाचार गरेको आरोप छ।

याे पनि पढ्नुस् : रामकुमारी झाक्रीले गरिन घुस खाने मन्त्रीको भण्डाफोर, को को परे?

 

प्रकाशित मिति: १३ आश्विन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्