प्रधानमन्त्रीमाथि गगन थापाको हमला


 


काठमाडौं, असोज १२

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि हमला बोलेका छन्। थापाले जनताको कार्यसम्पादन मूल्यांकनमा प्रधानमन्त्री फेल भइसकेको बताएका हुन्।

आइतबार राजधानीमा दशैंतिहारको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले मन्त्रीहरुको मूल्यांकन गर्ने प्रधानमन्त्री आफै काम नलाग्ने गरी फेल भएको टिप्पणी गरे।
प्रधानमन्त्रीले लगातार मन्त्रीहरुको कार्यसम्पादन चित्त नबुझेको र जाँचमा जस्ट पास भएको बताउँदै आएको भन्दै थापाले भने, ‘तपाइले मन्त्रीको मूल्यांकन गर्नुभयो। तर, नागरिकको तर्फबाट हामी तपाईको मूल्यांकन गर्छाैं। तपाईको मूल्यांकनमा तपाईका मन्त्रीहरु जस्ट भए होलान। तपाई त जस्ट पास भन्दा पनि धेरै मुनी फेल हुनुभएको छ। यो कुरालाई म संसदमा उठाउँदै आएको छु’

नेता थापाले सरकारको संरक्षणमा चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट गरिएको आरोप लगाए। पूर्वमन्त्री समेत रहेका थापाले शाहीमाथि कुटपिटको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको दावी पनि गरे। उनले सरकारले कानुन बनाएर, एकपछि अर्को नागरिकको स्वतन्त्रताको हनन् गरेर अधिनायकवादी शासन ल्याउन खोजिरहेको पनि बताए।

‘हिजो चितवनको घटना हेर्नुस्, एउटा नागरिक नेपालको कुनै ठाउँको माटोमा उभिएर आफ्नो विचार राख्दै गर्दा सरकारद्वारा संरक्षित तथा सरकारका मानिसहरुको आह्वानमा उसको ज्यान लिने गरी कुटपिट गरिन्छ, आज त्यहीँ पार्टीका कार्यकर्ता हिजो जे भएको छ, ठिकै भएको छ भनेर वक्तव्य निकाल्छ’, नेता थापाको आक्रोश थियो, ‘सरकारले यसरी व्यक्तिको बोल्ने स्वतन्त्रता, उसको सम्पत्तिमाथिको स्वतन्त्रता खोजेर फासिष्ट बन्ने संकेत गर्दैछ।’

नेता थापाले सत्तारुढ नेकपासँग विचार नै नभएकाले पनि सरकारको कामकारवाही प्रभावकारी हुन नसकेको दावी पनि गरे। नेता थापाले सरकारले संसदमा ल्याएको दर्जनौ कानुन संविधान विरोधी भएकाले त्यसको विरोध गर्नु परेको पनि स्पष्ट पारे।

प्रकाशित मिति: १२ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्