दलितको योगदान उच्च : पूर्वप्रम नेपाल


 


काठमाडौँ, १२ असोज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको हरेक परिवर्तनमा दलित समुदायले पुर्याएको योगदान उच्च रहेको बताएका छन ।

विजया दशमी, तिहार, नेपाल संवत्, छठ पर्वको उपलक्ष्यमा राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्वारा यहाँ आज आयोजित सांस्कृतिक तथा सामाजिक सद्भावका लागि शुभकामना आदानप्रदान तथा चियापानमा उहाँले लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि दलित समुदायले पुर्याएको योगदानको उच्च सम्मान गर्ने बताए ।

उनले दलित समुदायका हुने जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि छुवाछूतसम्बन्धी घटनाको वितरण तायर गर्ने, अनुगमन र अनुसन्धानलाई निरन्तरता दिन सङ्घलाई आग्रह गरे ।

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पालामा शुरु भएको जनता आवास कार्यक्रमलाई पूर्णरुपमा कार्यान्वयन गर्न पत्रकारको नै महत्वपूर्ण भूमिका हुने बताए । उनले दलित समुदाय अझै आर्थिक, सामाजिक राजनीतिकरुपमा पछाडि परेको भन्दै सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि दलित समुदायबीच एकताको आवश्यकता औँल्याए ।

पूर्वप्रधानमन्त्री नेपालले महिला हिंसा, बलात्कार, अपाङ्गता भएका व्यक्ति, अत्याचार, दाइजो प्रथा, बालविवाह, जातीय भेद्भाव, भ्रष्टारका विरुद्धमा सङ्घले आवास उठाउने विश्वास व्यक्त गरे । सांसद हृदयेश त्रिपाठीले समतामूलक समाज निर्माणका लागि व्यवहारिकरुपमै राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुनर्पेमा जोड दिए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियारले आमसञ्चारमाध्यमले आवाजविहीन दलितको सवाललाई स्थान नदिएको भन्दै आपत्ति जनाए । सङ्घ देशभर क्रियाशील करीब एक हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन हो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सङ्घले मूलधारको पत्रकारिताको नेतृत्व गर्नुपर्नेमा जोड दिँदै शुभकामना व्यक्त गरे । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, रिपोर्टर्स क्लब नोपलका अध्यक्ष ऋषि धमला र नेपाल टेलिभिजनका निमित्त महाप्रबन्धक आरती चटौतलगायतले सङ्घ स्थापना भएकामा शुभकामना व्यक्त गरे । सङ्घका अध्यक्ष तथा संविधानसभाका सदस्य विनोद पहाडीले नेपालको दलित आन्दोलनलाई थप उचाइमा पु¥याउने उद्देश्यले पनि सङ्घको स्थापना गरिएको बताए ।

चियापानमा विभिन्न राजनीतिक दलका नेता, सांसद, बुद्धिजीवीलगायत विभिन्न क्षेत्रका व्यक्तिको समेत सहभागिता थियो । दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि विसं २०६७ मा स्थापना भएको सङ्घले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने तीन दलित नेताको नाममा पत्रकारिता पुरस्कारसमेत स्थापना गरेको छ । सङ्घको हालै सम्पन्न बैठकले लामो समय आन्दोलनमा सक्रिय नेता एवं लेखक÷पत्रकार टिआर विश्वकर्माको सम्मानमा टिआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।

सङ्घले राणाशासनका विरुद्ध आन्दोलन चलिरहँदा कुचिकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायतका नेताको चिठी आदानप्रदान गर्ने राममाया च्यामेको सम्मानमा ‘राममाया च्यामे लोकपत्रकारिता पुरस्कार’समेत स्थापना गरेको छ ।

त्यसैगरी सङ्घले नेपाली काङ्ग्रेसका संस्थापक सदस्य एवं प्रचार, लेखक एवं नेपाली चलिचत्रका पहिलो निर्देशक देवव्रत परियार (डिबी परियार) को सम्मानमा ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ पनि स्थापना गरेको छ । सो पुरस्कार सङ्घको स्थापना दिवसका अवसरमा प्रदान गरिनेछ । सङ्घले प्रदेश नं १ मा पर्वत पोर्तेल, प्रदेश नं २ मा भोला पासवान, ३ मा भीमबहादुर घिमिरे, गण्डकी प्रदेशमा दीपक परियार, प्रदेश नं ५ मा सोना खटिक, कर्णाली प्रदेशमा अमर सुनार र सुदूरपश्चिम प्रदेशमा मिलन परियालाई प्रदेश इञ्चार्जसमेत नियुक्त गरिसकेको उपाध्यक्ष गोपाल बराइलीले जानकारी दिए ।

प्रकाशित मिति: १२ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्