सङ्घीयताको मर्मविपरीत कुनै काम हुन्न : अध्यक्ष प्रचण्ड


 


जिरी, ११ असोज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो सङ्घर्षबाट प्राप्त भएको संविधान र सङ्घीयताको भावना र मर्मविपरित काम नहुने बताएका छन । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतमा नागरिकलाई घर आँगनमा सेवा दिन खोज्दा कतिपय नजिकैको कार्यालयहरु टाढा पुगेको भन्दै त्यसलाई व्यवस्थापन गरिने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा अध्यक्ष दाहालले आम नागरिकको चाहनाअनुसार सबै चिजको व्यवस्थापन गर्दै लैजाने बताए । पर्यटन दिवस २०७६ का अवसरमा दोलखाको पर्यटकीय नगरी जिरीमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले दोलखा र जिरीको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जिरी विकासबाट टाढा रहन नसक्ने भन्दै उनले सगरमाथाको प्रवेशद्वारको रुपमा मानिने जिरीमा पहिले सञ्चालनमा रहेका विमानस्थल सञ्चालन गर्न आफूले पहल गर्ने बताए ।

दोलखाको जिरीमा सञ्चालनमा रहेको रेडियो जिरी तथा जिरी नगरपालिकाले जिरीमा आयोजना गरेको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड आएका हुन । दोलखाका जनप्रतिनिधि तथ सांसद पार्वत गुरुङले दोलखाको हरेक क्षेत्रहरु पर्यटकीय महत्व बोकेको र त्यसमा पनि जिरी विशेष रहेकाले सबैले मिलेर विकास गर्नुपर्ने बताए ।

जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले दोलखालाई अर्गानिक जिरी बनाउने गरी कार्यक्रम अगाडि बढाएको जानकारी गराए । दोलखाको जिरीलाई प्लास्टीक मुक्त नगर बनाउने अभियानअनुसार अध्यक्ष प्रचण्डलाई स्थानीय उत्पादन नेपाली कागजको झोलामा राखेर प्रदान गरिएको थियो । दोलाखामा अध्यक्ष प्रचण्डले तेन्जिङ नोर्गे शेर्पा र एडमन हिलारीको शालिक आनावरण गरे । जिरी नगरपालिकाको नव निर्मित भवन उद्घाटन गरेका अध्यक्ष प्रचण्ड जिरी एफएमको दोस्रो वार्षिक साधारणसभा कार्यक्रममा सहभागी भए ।

प्रकाशित मिति: ११ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्