‘नेपाल ट्रष्टको नाममा रहेको जग्गा कसैले चलाउन पाउँदैन’


 


भक्तपुर, १० असोज

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बहानामा भोगचलन गर्न नपाउने बताएका छन । नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमीनको आज अनुगमन गर्ने क्रममा उनले यस्तो बताएका हुन ।

नेपाल ट्रष्ट सञ्चालक समितिका अध्यक्षसमेत रहेका पोखरेलले भने, “यो नेपाल ट्रष्टको नाममा लालपुर्जा भएको सम्पत्ति हो, नेपाल ट्रष्टको नाममा रहेको जग्गामा कहीँकतै, कुनै व्यक्ति, एकाइ वा कुनै निकायले केही गर्न सक्दैन ।”

नेपाल ट्रष्ट कानूनअन्तर्गत चलेको र आफ्नो नामको सम्पत्ति व्यवस्थित गर्न कानून बनेको चर्चा गर्दै उनले मन्त्रिपरिषद्को निर्णयबिना केही गर्न नसकिने बताए । नेपाल ट्रष्टको नाममा रहेको जग्गा अब ट्रष्ट आफैँले संरक्षण गर्ने भन्दै उनले ट्रष्टले काठमाडौँ उपत्यकाको मात्रै नभई पोखरा, हेटौँडा, भरतपुर, सुर्खेत, धनगढीलगायत देशभर रहेका सम्पत्तिको संरक्षण शुरु गरेको बताए ।

यहाँको जग्गाको हकमा भने स्थानीय जनता, सम्बन्धित नगरपालिका, प्रदेश सरकार र जनप्रतिनिधिको छलफलबाट विधिसङ्गत साझा धारणा बनाएर निर्णय गर्ने भनाइ उनले राखे ।

कार्यक्रममा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाल ट्रष्टको नाममा रहेको जग्गा भक्तपुर नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरे पनि यसको स्वामित्व लिने प्रयास भने भक्तपुर नगरपालिकाले गर्न नहुने बताए । उनले भने, “पर्खाल लगाएर संरक्षण गर्नु राम्रो हो तर यो जग्गाको स्वामित्व लिने प्रयास नगरपालिकाले नगरोस्, विरोधमा उत्रनु पर्ने अवस्था नआओस् ।”

विसं २०७२ को भूकम्पमा यो चौर धेरैको आश्रयस्थल बनेको चर्चा गर्दै उनले यसलाई खुल्ला क्षेत्रको प्रयोजनमा लान सकिने बताए । उनले स्थानीय सरकार भन्दैमा जे मन लाग्छ, त्यही कानून हो भन्नु गलत भएको चर्चा गर्दै उनले समन्वयात्मक अवधारणामा जानुपर्ने भनाइ राखे ।

कार्यक्रममा ३ नं प्रदेशका प्रदेशसभा सदस्य शशीजङ्ग थापाले नेपाल ट्रष्टको जग्गामा भक्तपुर नगरपालिकाले हस्तक्षेप गर्न नहुनेमा जोड दिँदै नेपाल ट्रष्टको जग्गालाई नगरपालिकाले भाडामा लगाउनु उचित नहुने बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका कुनै गैरसरकारी संस्था नभएको टिप्पणी गर्दै स्थानीय सरकार भएकाले नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरेको बताए । “नगरपालिकाले संयुक्त नापी गर्दा अहिले जग्गा घटेर १०६ रोपनी दुई आना बाँकी छ, यहाँको बहुमूल्य जग्गा अतिक्रमण भइसक्यो, नेपाल ट्रष्टलाई मतलब छैन, न त सरकारलाई नै छ”, नपा प्रमुख प्रजापतिले भने, “जग्गा अतिक्रमण भएको टुलुटुलु हेरेर बस्न सकेनौँ, संरक्षण गरेका हौँ, स्वामित्व लिएका छैनौँ ।”

उनले नगरपालिकाभित्र कसैले व्यापार गर्दा कर लिने बताए । “नेपाल ट्रष्टको जग्गामा मात्रै होइन, नगरपालिकाभित्रका अन्य ठाउँमा पनि कर लिन्छौँ, कर नतिरी कसैलाई कार्यक्रम गर्न त के प्रवेश गर्न पनि दिँदैनौँ”, उनको भनाइ थियो । यहाँबाट लिएको करको रकम शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च गरेको बताउँदै उनले अब यो जग्गालाई कसरी सदुपयोग गर्ने भन्नेबारेमा बृहत् छलफल गरेर निर्णय लिनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल ट्रष्ट सञ्चालक समितिका सचिव गजेन्द्र ठाकुरले नेपाल ट्रष्टको नाममा लालपुर्जा रहेको जग्गामा भक्तपुर नगरपालिकाले कुनै स्वीकृत नलिई पर्खाल लगाउने र भाडामा लगाउने गरेको बताए । नगरपालिकालाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत गृह मन्त्रालयले पत्र पठाएको बताउँदै उनले यो कुनै सार्वजनिक र पर्ति जग्गा नभएकाले स्वीकृतीबिना नगरपालिकाले केही गर्न नपाउने बताए ।

नेपाल ट्रष्टको सञ्चालक समितिको निर्णयपछि मन्त्रिपरिषद्को निर्णय र त्यसपछि राज्य व्यवस्था समितिको निर्णय गरेर मात्रै नेपाल ट्रष्टको जग्गा चलाउन पाउने व्यवस्था रहेको भन्दै उनले भक्तपुर नगरपालिकाले कर उठाए पनि भाडा उठाउन नपाउने बताए । उनले नेपाल ट्रष्टले छिट्टै यहाँ सानो घर बनाएर पाले र कर्मचारी राखेर व्यवस्थापन गर्ने तयारी गरेकाले यहाँको साँचो हस्तान्तरण गर्न नगरपालिकालाई आग्रह गरे ।

नेपाल ट्रष्ट सञ्चालक समितिका सदस्यसचिव राजेश्वर ज्ञवालीले नेपालमा १६ जिल्लामा २७ हजार रोपनी जग्गा नेपाल ट्रष्टको नाममा रहेको जानकारी दिँदै उपत्यकाभित्रको ठूलो सम्पत्ति सल्लाघारीको जग्गालाई ट्रष्ट आफैँले व्यवस्थापन गर्ने बताए ।

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्