यात्रु सहायता कक्ष स्थापना


 


खोटाङ, १० असोज

जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैँ, तिहार तथा छठ पर्वको अवसरमा हुने यात्रुको चापलाई ध्यानमा राखेर प्रहरीले शुक्रबार दिक्तेलको किरातचोक र त्रिधार्मिकस्थल हलेसीमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलस्थित किराँतचोकमा स्थापना गरिएको यात्रु सहायता कक्ष प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययले उद्घाटन गरे । चाडपर्वको समयमा हुने भीडभाडकाबीचमा असहज यात्रा भएमा उजुरी वा गुनासो गर्ने व्यवस्थाका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

यात्रु सहायता कक्षमार्फत ट्राफिक नियम तथा सचेतना, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको लगायतका विषयमा चौबीसै घण्टा जाँच गरिने प्रहरीले जनाएको छ । सहायता कक्षबाट ट्राफिक नियमसम्बन्धी पर्चा\पम्प्लेट वितरण गर्नुका साथै माइकिङसमेत शुरु गरिएको छ ।

चाडपर्वको अवसरमा हुन सक्ने अप्रिय घटनालाई न्यूनीकरण गर्न खोटाङमा सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ उपाध्यायले बताए । “चाडपर्वको समयमा चोरी, ठगी तथा मादक पदार्थ सेवनबाट हुने घटना बढी हुन्छ”, उनले भने, “त्यस्ता अप्रिय घटनालाई न्यूनीकरण गर्न सुरक्षा व्यवस्था मिलाइएको हो ।”

जिल्लामा हुन सक्ने अप्रिय घटनालाई तत्कालै समाधान गर्न जिल्ला प्रहरी कार्यालय खोटाङको १०० नम्बरको हटलाइन टेलिफोन सेवालाई चौबीसै घण्टा सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक गौतमले बताए । उक्त हटलाईन सेवामा सङ्कलित जानकारीको आधारमा थप सुरक्षाकर्मी परिचालन गरेर अप्रिय घटनालाई न्यूनीकरण गरिने जनाइएको छ ।

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्