महायज्ञको तयारी पूरा


 


पोखरा, १० असोज

कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेस्थित कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठानको सहयोगार्थ शनिबारदेखि शुरु हुने श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञको तयारी पूरा भएको छ ।

महायज्ञबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मूल आयोजक समितिका अध्यक्ष भरत देवकोटाले कालिका मन्दिरको पुनःनिर्माणका साथै समग्र लुम्लेलाई नै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको बताए।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षलाई पनि महायज्ञले सहयोग पुर्याउने उनको भनाइ थियो । महायज्ञमा कथाशिरोमणि पण्डित दिपकप्रसाद पौडेलले प्रवचन दिनेछन । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर गुरुङले २०२२ सालमा स्थापना गरिएको मन्दिरको प्रचारप्रसार गर्न तथा पुनःनिर्माण गर्न महायज्ञ सञ्चालन गर्न लागिएको बताए ।

कार्यक्रममा महायज्ञ मूल आयोजक समितिका प्रथम उपाध्यक्ष एकदेव देवकोटाका अनुसार यज्ञबाट रु ५० लाख दान सङ्कलन गर्ने तथा रु ३५ लाख बचत गर्ने लक्ष्य रहेको बताए । महायज्ञ अवधिभर सामूहिक पितृ तर्पण, हवन, अन्नदान, भूमिदान, तुलादान, धान्याञ्चल, ब्राम्हण भोजन, विवाह, व्रतबन्ध, नवग्रहपूजा र चौरासी पूजा गरिने सञ्चार संयोजक श्रीभद्र पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: १० आश्विन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्