शशांक कोइरालासहित नेताहरु चढेको हेलिकप्टर तीन ठाउँमा आकस्मिक अवतरण, बालबाल बच्यो दुर्घटनाबाट


 


खोटाङ, असोज ९

मौसम प्रतिकूलताका कारण सङ्खुवासभाबाट काठमाडौँका लागि उडेको तीन वटा हेलिकप्टर बिहीबार खोटाङको रेग्मीटारमा आकस्मिक अवतरण गरिएको छ। सङ्खुवासभाबाट अरुण तेस्रोको अनुगमनपछि काठमाडौँ फर्कने क्रममा खराब मौसमका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको रेग्मीटारस्थित साप्सुखोलामा अवतरण गरिएको हो।

दिउँसो करीब ३ः४५ बजे अवतरण गरिएको हेलिकप्टर मौसममा केही सुधार आएपछि पुनः काठमाडौँका लागि उडेको स्थानीयवासी कुमार बुढाथोकीले बताए। वर्षा र बाक्लो कुहिरोका कारण दुई वटा अल्टिच्युट र एउटा मनाङ एयरको हेलिकप्टरलाई साप्सुखोला किनारमा आकस्मिक अवतरण गरिएको जनाइएको छ।

आपत्कालीन हेलिकप्टर अवतरण भएको विषयमा स्थानीयवासीले खबर गरेपछि सुरक्षाका लागि प्रहरी चौकी भँडारेघाटबाट प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए।

खराब मौसमकै कारण खोटाङबाट काठमाडौँ फर्कने क्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालालगायतका नेताको टोली चढेको हेलिकप्टर तीन ठाउँमा अवतरण गरेपछि काठमाडौँ पुगेको स्रोतले जनाएको छ। बुधबार दिउँसो २ः३० बजे हलेसीबाट उडेको हेलिकप्टर पहिलोपटक हलेसी तुवाचुङ नगरपालिकाको बाइटार, दोस्रो पटक रामेछापको लिखु नदीको दोभानमा र तेस्रो पटक साँझ ६ बजे रामेछापको मन्थली विमानस्थलमा अवतरण गरेको थियो।

हेलिकप्टरमा महामन्त्री कोइरालासहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, प्रतिनिधिसभा सदस्य हीरा गुरुङ, नवलपरासी सभापति भरत गुरुङलगायत चार जना सवार थिए। कोइराला काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रमलाई सम्बोधन गर्न खोटाङ आएका थिए।

प्रकाशित मिति: ९ आश्विन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्