नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग अझ बढ्ने विश्वास


 


काठमाडौँ, ७ असोज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेका छन । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओले अध्यक्ष दाहालसँग आज गर्नुभएको भेटवार्तामा दुई देश र दुई पाटीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।

भेटमा दुवै देशका कम्युनिष्ट पार्टीका गतिविधिबारे विचारविमर्श भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । अध्यक्ष दाहालले दुई कम्युनिष्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँस्तरमा विकास गर्ने र एकार्काका अनुभव साटासाट गरेर अगाडि बढ्ने बताएका थिए ।

उनले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास गरेका थिए ।

भेटमा चिनियाँ विदेश विभाग प्रमुख सोङले दुवै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । उनले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने औँल्याए ।

“देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ”, विदेश विभाग प्रमुख सोङको भनाइ थियो ।

प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्