मुख्यमन्त्री गुरुङ द्वारा तुम्के घोरकुनामा पुल शिलान्यास


 


कास्की, ५ असोज

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टी बलियो बनेको समयमा देशले विकासमा फड्को मार्ने बताएका छन । पोखरा महानगरपालिका–१६ स्थित तुम्के घोरकुनामा निर्माण गर्न लागिएको पक्की मोटरेवल पुलको आज शिलान्यास गर्दै उनले कम्युनिष्ट पार्टी बलियो भएर कम्युनिष्टको नेतृत्वमा नयाँ संविधान निर्माण भई देशमा विकास शुरु भएको भनाइ राखे ।

उनले पञ्चायत, राजतन्त्रलगायतका व्यवस्था हटाइसकिएकाले राजनीतिक रुपमा फाल्नुपर्ने केही नरहेकाले सत्तापक्ष र प्रतिपक्षले विकासमा लाग्नुपर्नेमा जोड दिए । प्रतिपक्षलाई विकासमा राजनीति नगर्न आग्रह गर्दै उनले भने, “विकास अघि बढाउन सत्तापक्षको नेतृत्वदायी भूमिका हुन्छ, प्रतिपक्षले सहयोग गर्नुपर्दछ, प्रदेश सरकारले कुनै पनि प्रदेशसभा सदस्यलाई कुन पार्टीको भनेर हेरेको छैन, विकासमा राजनीति र पार्टीकरण नगरौँ ।”

मुख्यमन्त्री गुरुङले आगामी पाँच वर्षभित्रमा प्रदेशका ८५ स्थानीय तहका केन्द्रलाई सात मिटर फराकिलो पक्की कालोपत्र सडकबाट जिल्लाको प्रमुख प्रशासनिक केन्द्रसँग जोड्ने गरी सरकारले काम गरिरहेको बताउँदै हरेक निर्वाचन क्षेत्रमा एक रणनीतिक महत्वको सडक निर्माणको काम शुरु गरिएको जानकारी गराए । पुल निर्माणबाट स्थानीयको दैनिक जीवन सरल हुने विश्वास व्यक्त गर्दै उनले गाउँघरको बाँझो रहेको जमीनलाई हराभरा बनाउन र उत्पादनमा भाग लिने, जाँगर चलाउने तथा मेहनती कृषकलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले चालू वर्षका लागि आफूले छनोट गरेर पठाएका एउटा पनि योजना नपर्नु तथा सत्तापक्षका सदस्यका ५० भन्दा बढी योजना पारिएको आरोप लगाए । उनले पुल समयमै सम्पन्न गर्ने नाममा गुणस्तरीयतामा सम्झौता गर्न नहुनेमा जोड दिए । पूर्वसांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सोमनाथ अधिकारीले समग्र विकासको केन्द्र पुल रहेको चर्चा गर्दै समयमै निर्माण सम्पन्न भएर जनताले उपयोग गर्न पाउनुपर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तोकिएको मितिभन्दा छ महीनाअघि पुल निर्माण सम्पन्न गरेर फरफारक गरे निर्माण व्यवसायीलाई सम्मान गरिने प्रतिबद्धता व्यक्त गरे । महानगरपालिकाको रु तीन करोड ३३ लाख ३१ हजार ३२५ लागतमा पुल निर्माणका लागि गत भदौ ५ गते फेवा÷पिएल जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।

विसं २०७७ मङ्सिर ५ गतेभित्रमा निर्माण सम्पन्न गरिने आरसीसी मोटरेवल पुल २५ मिटर लम्बाइ तथा फुटपाथबाहेक पाँच मिटर फराकिलो हुने महानगरका इञ्जिनीयर धुव्र भट्टराईले जानकारी दिए । पुल बनेपछि वडाका काभ्रे, घोरकुना, ताप्ले ¥याले, अर्मलाकोट, जोगिमणि तुम्केलगायतका जनता प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष जीवन आचार्यले बताए ।

प्रकाशित मिति: ५ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्