खानेपानी वितरण मा तीव्रता, आपूर्ति सहज बन्दै


 


काठमाडौँ, ५ असोज

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ५\६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकामा दुई दिन बिराएर वितरण थाल्ने भएको छ ।

वाग्मतीमा पानीको प्रवाह बढेकाले अहिले काठमाडौँका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बनाउन लागिएको लिमिटेडले जनाएको छ । महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न लागिएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरको निर्देशनमा केयुकेएलले काठमाडौँका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ । वाग्मतीमा पानीको प्रवाह बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको लिमिटेडका कम्पनी सचिव मिलन शाक्यले बताए । उनका अनुसार पुरानै वितरण लाइनबाट पानीको वितरण हुनेछ । पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले चुहावट देख्नासाथ नजिकका शाखा कार्यालयमा खबर गर्न पनि उनले सेवाग्राहीलाई अनुरोध गरिन । उनले भनिन, “वर्षातका कारण काठमाडौँका मुख्य ठाउँहरुमा अहिले पानीको समस्या कम भइरहेको छ ।”

लिमिटेडका अनुसार महाङ्कालचौरस्थित पानी ट्याङ्कीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ । महाङ्कालचौर शाखाको पानी चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आएको छ । महाराजगञ्जस्थित पानी ट्याङ्कीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको छ भने नयाँ बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्