नेपाली युवा र राजदूतबीच भेटवार्ता


 


बङ्लादेश (ढाका), ५ असोज

बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र र नेपाली युवाबीच भेटवार्ता भएको छ । ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङ्कर सोसाइटीद्वारा ढाकामा आयोजित ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ मा भाग लिन ढाका आएको सो युवाहरुको टोलीले शनिबार राजदूतसँग भेटवार्ता गरेको हो ।

भेटका क्रममा राजदूत डा मिश्रले दुवै देशको सरकार र जनताबीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउने र नेपाल र बङ्गलादेशबीच हुने यातायात सेवालाई अझै सहज बनाउन पहल गर्ने बताए । सो अवसरमा ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्यालले नेपाल र बङ्गलादेशबीचको युवाहरुको सम्बन्धलाई अझै बलियो बनाउँदै नेपालको पर्यटन क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे ।

नेपाल बार एशोसिएसनका पूर्वकोषाध्यक्ष मोहन इङनाम, दलित महिला उत्थान सङ्घ नेपाल (एड्वान) की महासचिव विन्दु परियार, कर्णाली टेलिभिजनका अध्यक्ष डम्बर शाहु, देशान्तर साप्ताहिकका सम्पादक विष्णुप्रसाद देवकोटा र त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक देवीप्रसाद अधिकारीलगायतको टोलीले भेटवार्ता गरेको हो । त्यसैगरी सो टोलीले बङ्गलादेशका पूर्वगृह तथा वाणिज्यमन्त्री अल्टाफ हुसेन चौधरीलाई भेट गरेको थियो ।

ग्लोबल ल थिङकर सोसाइटीले युवाको क्षेत्रमा क्रियाशील विभिन्न देशका व्यक्तिलाई यही असोज २ गते बिहीबार ढाकामा ‘साउथ एशियन युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरेको छ । नेपालको तर्फबाट अधिवक्ता मोहन इङनाम, ९एड्वान० की महासचिव विन्दु परियार, पत्रकार डम्बर शाहु, विष्णुप्रसाद देवकोटा र सुशील दर्नाल, उपप्रध्यापक देवीप्रसाद अधिकारी, अधिकारकर्मी नगेन्द्रप्रसाद भट्ट र बालअधिकारकर्मी दुर्गादेवी मैनालीले सो अवार्ड प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी सविन लामिछाने, पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, दृष्टिविहीन अधिकारकर्मी नीरबहादुर श्रेष्ठ, महिला अधिकारकर्मी रेनु ढुङ्गेल, पर्यटन व्यवसायी नानुकाजी अर्याल, उद्यमी अनुप सुनुवार र टुकी नेपालकी उपाध्यक्ष निर्मला धमलालगायत विभिन्न देशसहित ३३ युवालाई सो अवार्ड प्रदान गरिएको हो ।

त्यसैगरी ग्लोबल ल थिङकर सोसाइटीले ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्याललाई ग्लोबल चेन्स मेकर अवार्ड प्रदान गरेको छ । क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाहरुको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सो दुईदिने सम्मेलनले युवाको क्षेत्रमा अझै सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: ५ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्