तीन करोड लागतमा बन्यो लोकमार्गमा पुल


 


गलकोट, ४ असोज

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ । बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारी साधन तथा पैदलयात्रुलाई सहज भएको छ ।

बर्खाका निकै ठूलो खोला बग्ने खहरेखोलामा सवारी साधन आउजाउ गर्नका लागि निकै समस्या भएका कारण १८ महीना अगाडि पुल निर्माण थालिएको मध्यपहाडी लोकमार्गले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्डमा निर्माण भएका आधा दर्जन पुलमध्ये अन्तिम पुल खहरेखोलामा निर्माण गरिएको आयोजनाका कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए ।

पुल निर्माण अगाडि बर्खाको समयमा खोलाबाट निकै जोखिम मोलेर सवारी साधन तथा पैदलयात्रु आवतजावत गर्दै आएका थिए । पुल निर्माणसँगै सवारी साधन तथा पैदलयात्रुहरुलाई एकैसाथ सहज भएको स्थानीयवासीले बताएका छन् । खहरेखोलामा झुलुङ्गे पुलसमेत नहुँदा पैदलयात्रीलाई खोला तर्नुपर्ने बाध्यता नै रहेको थियो । १८ महीनामा सक्ने गरी जयबाबा्ओखलढुङ्गाा्बिएमए निर्माण सेवाले ठेक्कामार्फत पुल निर्माण गरेको हो ।

समयमै मोटरेबल पुल निर्माण नहुँदा यात्रुहरुले समस्या भोगिरहेको सन्दर्भमा खहरेखोला मोटरेबल पुल भने समयअवधि भित्रै सकिएको छ । २० मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको उक्त पुल रु दुई करोड ८९ लाखमा निर्माण गरिएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि बिमलेश आचार्यले बताए । “लोकमार्गले निर्माण गरेको पुलको डिजाइनमा समस्या नभएको भए १० महीनामै सकिन्थ्यो”, आचार्यले भने, “पुरस्कारको छनोटमा परेको पुल डिजाइन सच्च्याउँदा समयअवधिभित्र मात्र निर्माण गर्न सकियो ।”

पछिल्लो समय मध्यपहाडी पुष्पलाल लोकमार्गले गति लिन थालेको छ । आगामी असारसम्म लोकमार्गको बागलुङ खण्ड कालोपत्र गर्नेगरी काम अगाडि बढेको लाकमार्ग आयोजनाले जनाएको छ । अहिले खहरेखोला नजिकैको चट्टान कटानका लागि लोकमार्गको बागलुङ खण्ड दैनिक आठ घण्टा बन्द गरिँदै आएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्