राजनीतिक शुद्धीकरणका लागि युवा सक्रिय हुनुपर्छः अध्यक्ष तिमिल्सिना


 


काठमाडौँ, ४ असोज

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका लागि युवाहरुले चासो दिनुपर्ने बताएका छन । ‘नेपाल युथ एसडीजी समिट’को आज उद्घाटन गर्दै उनले देश र समाज परिवर्तका लागि युवालाई राजनीतितर्फ चासो दिन आग्रह गरे ।

“लामो राजनीतिक आन्दोलन र अभियानपछि देश स्थिरतातर्फ अगाडि बढेको छ”, अध्यक्ष तिमिल्सिनाले भने, “अब राजनीति र समाजलाई शुद्धीकरण गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन युवाको सक्रियता आवश्यक छ ।” नेपाल जस्तो सुन्दर र प्राकृतिक रुपमा विविधतापूर्ण देश गरीब हुनु बिडम्वना भएको उनको भनाइ थियो । दिगो विकासको लक्ष्य नेपालको राष्ट्रिय लक्ष्य भएको र त्यसका लागि संसद्, तीन तहका सरकार र यससँग सम्बद्ध संस्था सक्रिय हुन आवश्यक रहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

युथ एड्भोकेसी नेपाल र नेपाल एसडीजी फोरमको संयोजन, राष्ट्रिय योजना आयोग, युनेस्को, भीएसओ नेपाल, एक्सन एड नेपालको सहकार्य तथा २५ भन्दा बढी गैरसरकारी संस्थाको आयोजनामा शुरु भएको कार्यक्रम एक सातासम्म चल्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्