महानगरप्रमुख दाहाल द्वारा घर हस्तान्तरण


 


चितवन, ४ असोज

भरतपुर महानगरपालिकाको वडा नम्बर २२ पटिहनीमा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका घर आज हस्तान्तरण गरिएको छ ।

सघन शहरी विकास कार्यालय भरतपुर र भरतपुर महानगरपालिकाको सहयोगमा निर्माण गरिएका घरहरु घरधनीलाई हस्तान्तरण गरिएको हो ।

महानगरपालिकाका प्रमुख रेनु दाहालले निर्माण सम्पन्न घरमा रिबन काटेर घर धनीसँगै गृह प्रवेश गरेर घर हस्तान्तरण गरेकी हुन् । सघन शहरी विकास कार्यालयले भवन निर्माणका लागि रु ५० हजार सहयोग गरेको थियो । सो रकमबाहेक घर धनीले रकम थप गरी घर निर्माण गरेका हुन् ।

सो क्षेत्रमा २२ वटा घर निर्माण गरिँदै छ । निर्माण सम्पन्न भएका घर हस्तान्तरण आजबाट शुरु भएको हो । घर सम्पन्न भएसँगै घर धनीले प्रयोग गर्न पाउने गरी हस्तान्तरण प्रक्रिया शुरु गरिएको हो । सो कार्यक्रमअन्तर्गत घरमा रहेको खर हटाएर सुरक्षित घर निर्माण गर्ने उद्देश्य रहेको भए पनि घरधनीले रकम थप गरी ब्लकको गाह्रो लगाएर तीनवटा कोठा निर्माण गरेका छन् । सो क्षेत्र वन्यजन्तुको जोखिममा रहेको क्षेत्र हो ।

घर प्रवेशसँगै महानगरप्रमुख दाहालले महानगरभित्र खरको छानो हटाउने अभियानअन्तर्गत यो कार्यक्रम शुरु भएको भन्दै आउँदा वर्षहरुमा यस कार्यक्रमले निरन्तरता पाउने बताइन् । कार्यक्रम वडाध्यक्ष विष्णुराज महतोको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्