देश निर्माणको पहिलो शर्त शान्ति सुरक्षा – मुख्यमन्त्री राई


 


विराटनगर, भदौ २९
प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले शान्ति सुरक्षा र राजनीतिक स्थिरताविना देश निर्माण हुन नसक्ने बताउनुभएको छ ।
नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानूनमन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री राईले देश निर्माणको पहिलो शर्त शान्ति सुरक्षा, सुशासन र राजनीतिक स्थायित्व हो भन्दै स्वच्छ र समुन्नत प्रदेश बनाउन प्रदेश सरकारले कृषि, पर्यटन, उद्योगलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले शान्ति सुरक्षाको स्थिति बलियो भएमा मात्र देश निर्माण गर्न र सरकारले लिएको सङ्कल्प पूरा हुने भन्दै शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रदेश सरकार प्रष्ट रहेको बताउनुभयो । मुख्यमन्त्री राईले शान्ति सुरक्षाको चुनौतीलाई सामना गर्न सबै एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले प्रदेश प्रहरी ऐन आउने चर्चा गर्दै सरकार भ्रष्टाचारका लागि शून्यसहनशीलता अपनाएको छ, अनियमितता गरेको वा भ्रष्टाचार गरेको थाहा पाएमा एक घण्टाभित्रमा कारवाही गर्ने धारणा राख्नु भयो । प्रदेश सरकार बनेको पहिलो दिन देखि नै सरकारले शान्ति सुरक्षा र सुशासनका निम्ति सुरक्षाको सबै निकायसँग सहकार्य, समन्वय र सहयोगको आदानप्रदान गरिरहेको प्रष्ट पार्दै मुख्यमन्त्री राईले बाढी

पहिरोका समयमा सरकार उद्धार, राहत र खोजीको कामलाई इमान्दारीपूर्वक सम्पन्न गरेको पनि बताउनुभयो
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सरकार समाजवादको लक्ष्य पूरा गर्ने दिशामा अघि बढिरहेको र यसैको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकिने कुरामा जोड दिनुभयो ।

प्रकाशित मिति: २९ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्